काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार कार्यालयले प्रयोगमा ल्याएको ट्विटर एकाउन्ट बन्द गरिएको छ। राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्य राखेर चलाइएको सो एकाउन्ट (@ShitalNiwas) मा प्राविधिक समस्या देखिएका कारण बन्द गरिएको कार्यालयको भनाइ छ।
सो खाता अगष्ट २०१८ मा खोलिएको थियो। त्यसपछिका अपडेटका बारेमा जानकारी प्राप्त नभएता पनि पछिल्लो समय राष्ट्रपतिसँग जोडिएका सूचनाहरु पोस्ट गर्ने गरेका कारण सक्रिय देखिएको थियो।
केही दिनयता सो एकाउन्टलाई लिएर ट्विटरमा विभिन्न प्रतिक्रियाहरु उत्पन्न भएका थिए।
कतिपयले सो एकाउन्ट पहिल्यै कसैको प्यारोडी एकाउन्टको रुपमा प्रयोग भएको र पछि नाम र ह्यान्डल परिवर्तन गरी राष्ट्रपतिको कार्यालयले प्रयोग गरेको बताएका थिए। त्यसलाई सहयोग पुग्नेगरी उनीहरुले कैयौं स्क्रिनसटहरु पनि पोस्ट गरेका थिए।
सार्वजनिक भएका फोटोहरुमा शितल निवास ह्यान्डललाई मेन्सन गरेर प्रशस्तै अन्तरक्रिया गरिएका छन्। तर, ती स्क्रिनसटमा शितल निवास ह्यान्डल भएको ट्विटरसँग सम्बन्धित ट्विटलाई भने हटाइएको देखिन्छ।
यसले अहिले शितल निवास बनाइएको भए पनि पहिले अर्कै ह्यान्डल रहेको र त्यसमा अन्तरक्रिया भएको तर्कलाई बल पुग्छ। यद्यपि, यसको आधिकारिता भने पुष्टि भएको छ।
प्रधानमन्त्री निकट र सरकारबाट लाभ लिएका कतिपयले नै विभिन्न नेताका नाममा प्यारोडी एकाउन्ट बनाउने र असान्दर्भिक ट्विट लेख्ने गरेको आरोप लाग्ने गरेको छ।