काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेको छ ।
१० दिनदेखि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । तर, दुबैजनाको सन्देश आदान प्रदान भने भइरहेको छ ।
अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका नेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत सन्देश आदान प्रदान चलिरहेको छ ।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका लागि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन् ।
प्रचण्डसँगको भेटवार्तामा तीनैजनाले ओलीले विगतको सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका स्रोतको भनाइ छ । पौडेल, नेम्बाङ र पोखरेललाई अध्यक्ष प्रचण्डले पार्टीको बैठकबाट निकास खोज्नुपर्ने बताएका छन् ।
स्रोतका अनुसार प्रचण्डले पोखरेलसँग भने, ‘अब एक्लाएक्लै भेटवार्ताको अर्थ छैन, बैठकबाट निकास खोजौँ । पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएको छैन । अब बैठकबाट निकास खोज्नुपर्छ ।’
भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा विपरित ओलीले बालुवाटारमा भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।
त्यसअघि कर्णाली प्रकरण, मन्त्रिपरिषद्को बिस्तार तथा हेरफेर, विभिन्न देशमा राजदूत नियुक्तिलगायतका कुराले बिवाद बढेको थियो ।