काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा जुनसुकै बेला फुट्नसक्ने संकेत गरेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्टी फुटे पनि अन्यथा नलिन भन्ने गरेको निकटस्थहरु बताउँछन्।
पछिल्लो समय मत्थर होला भन्ने सोचिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अब केन्द्रमा मात्र सिमित भएको छैन। यो विवाद विस्तारै तल्ला संगठनहरुमा मात्र होइन, जिल्ला-जिल्लामा पनि देखिन थालिएको छ।
नेकपा विवादको यही श्रृङ्खला केही दिनअघि पर्सामा देखियो। पर्सामा नेकपाका दुई गुटका कार्यकर्ताबीच झडप हुँदा एक जनाले ज्यानै पनि गुमाए।
त्यसअघि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव ल्याउने प्रक्रिया सुरु गर्नुले पनि नेकपामा देखिएको विवाद कुन तहसम्म पुगेको छ भन्ने संकेत गरेको छ।
पछिल्लो पटक नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग गोप्य भेटघाट गरेपछि प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत अलोचनात्मक अभिव्यक्ति दिएका छन्। ‘रअ’ प्रमुखसँगको यो भेटलाई विपक्षी दलका नेताहरुले समेत निकै आक्रामक रुपमा टिप्पणी गरेका छन्।
यहीबीच प्रधानमन्त्री ओलीविरुद्ध मिलेर थप संघर्षका कार्यक्रम गर्ने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल तयार भएका छन्।
‘उहाँले पछिल्लो समय नेकपा विवाद समाधान गर्न बनेको कार्यदलले दिएका सुझावलाई बेवास्ता गर्नुभएको जगजाहेर छ,’ स्रोतको दाबी छ, ‘त्यसैले पार्टीलाई र जनतालाई सरकारले काम गरेको छ भन्ने आभास दिन ओलीलाई थप सचेत बनाउन अहिले आवश्यक भएको हो।’
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दशैंको छेकोमा भेटेका विभिन्न नेता तथा सांसदहरुलाई आफूमाथि ‘अतिचार’ गरिएको अभिव्यक्ति दिन थालेका छन्। दशैंको शुभकामना आदनप्रदान गर्ने हेतुले बालुवाटार पुगेका आफूनिकट नेताहरुलाई प्रधानमन्त्री ओलीले अब पार्टी फुटे पनि आश्चर्य नमान्न र त्यसका लागि तयार रहन बताउन थालेका छन्।
‘उहाँले वर्षौ पार्टीको महासचिव भएर नेतृत्व गर्न हुने, अहिले म अध्यक्ष हुँदा उहाँले देखि नसहने ?’ प्रधानमन्त्री ओलीले पछिल्लो समय आफूनिकट नेताहरुलाई भन्न थालेका छन्, ‘असहयोग गर्ने हद पनि अब पार गरिसकेको छ, यसले पार्टीलाई एक हुनबाट रोक्ने संकेत देखिएको छ।’
पछिल्लो समय कर्णाली विवादमा नेकपाका दुई अध्यक्षका आएका दुई फरक फरक विज्ञप्तिले पनि यो पार्टीको विवाद कति गम्भीर मोडमा पुगेको छ भन्ने संकेत गरेको छ। ‘कर्णाली विवादमा प्रचण्ड र नेपालको मुभका कारण पनि हुनसक्छ, प्रधानमन्त्री ओली अब वार कि पार गर्ने मनासयमा रहेको मैले बुझेँ,’ ओलीसँगको भेटपछि नेकपाका ती सांसदले भने, ‘उहाँले पनि डिप्लोमेटिक वेमा जे पनि हुनसक्ने भन्दै तयार रहन अनुरोध फेरि गर्न थाल्नु भएको छ।’