काठमाडौं- कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या काठमाडौं जिल्लामा मात्रै साढे ६० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ६० हजार ७४२ पुगेको हो।
जसमध्ये २१२ जनाको मृत्यु भइसकेको छ। यस्तै कूल संक्रमितमध्ये ४४ हजार २८८ जना निको भइसकेका भए पनि अझै १९ हजार ७ सय ५२ जना भाइरसबाट मुक्त भइसकेका छैनन्। उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी भक्तपुरमा काेराेनाबाट संक्रमित हुनेकाे कूल संख्या ५ हजार ६५० पुगेको छ। जसमध्ये ६३ जनाकाे मृत्यु भइसकेकाे छ। संक्रमितमध्ये ४ हजार ४ सय २२ जना निकाे भइसकेका छन् भने १ हजार १ सय ६५ जना अझै भाइरसयुक्त नै छन्।
यसैगरी ललितपुरमा संक्रमितको कूल संख्या ८ हजार ५ सय ९९ पुगेकाे छ। जसमध्ये ५८ जनाकाे मृत्यु भइसकेकाे छ।
जम्मा संक्रमितमध्ये ६ हजार १९६ जना निकाे भइसकेका भए पनि २ हजार ३ सय ४५ जना अझै भाइरसबाट मुक्त हुन सकेका छैनन्।