काठमाडाैं- सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने घाेषणा गरेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ।
पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ सङ्क्रमितलाई उपचार गर्न खर्चकाे रेट तोकेको हो। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताए।
‘पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले पनि निःशुल्क उपचार गराउँदै आएका थियौं,’ उनले भने, ‘हाल लक्षित समूहबाट अरू सबैबाट उपचार खर्च नदिने भएपछि हामीले पनि संस्था चलाउनका लागि उपचार खर्च लिने निर्णय गरेका हौं।’
सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अतिअपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो।
तीबाहेक बिरामीको शुल्क लिने निर्णय सरकारले गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई पत्र लेखी गत शुक्रबार (कात्तिक १४) बाट लागू हुने गरी लक्षित समूहबाहेक सबैसँग उपचार खर्च लिन पत्राचार गरेको थियो।
अस्पतालका अनुसार कोभिड–१९ सङ्क्रमित जटिल भएको अवस्थामा भेन्टिलेटरसहित सघन उपचार कक्षमा दैनिक उपचार खर्च १५ हजार तथा धरौटी ५० हजार, भेन्टिलेटरमा उपचार गर्दा ७ हजार ५ सय, मध्यम जटिल बिरामीलाई क्याबिन आइसोलेसनमा राख्दा ७ हजार ५ सय र मध्यम जटिल बिरामीलाई ग्यास्ट्रो आइसोलेसनमा राख्दा ३ हजार ५ सय दैनिक खर्च राखेको छ।