काठमाडौं- नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका विषयमा आफू निकट नेताहरुसँग छलफल गरेका छन्। उक्त छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने संकेत गरेको प्रचण्डले आफूलाई ब्रिफिङ गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
‘प्रधानमन्त्रीले सँगै जान नसकिने अवस्था आएको अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंबाट त्यस्तो प्रस्ताव आएपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।’
उता प्रधानमन्त्री निकट नेताले ‘प्रधानमन्त्रीले सिधै पार्टी फुटाउने प्रस्ताव नराखेको’ दाबी गरे । प्रधानमन्त्रीको भनाई उध्दृत गर्दैै ती नेताले भने, ‘यदि पार्टी मिल्नै सक्दैन र फुट्नै खोजेको हो भने सल्लाह गरेर फुटाऊ । यसरी घिसिपिटी गर्नुभन्दा पार्टी फुटाउ । भद्रगोल अवस्थामा पार्टी चलाइरहनु हुन्न ।’
भेटका क्रममा भएको कुरालाई लिएर प्रचण्डले खुमलटारमा आइतबार बिहान आफूनिकट नेताहरुलाई सुनाएका थिए। ‘तपाईंको बहुमतको निर्णय भन्नुहुन्छ। के भन्नुहुन्छ’ श्रेष्ठले भने ‘त्यो गर्न सकिएन। अब अलग–अलग पार्टी चलाऔं। सँगै बसेर काम गर्न सकिएन।’
ओलीले आफूसँगको भेटमा सबै कुरामा बहुमतको निर्णय मान्नुपर्ने आवश्यकता नठानेको पनि बताएको प्रचण्डले नेताहरुलाई ब्रिफिङमा भनेका छन्। आफूले चाहिँ नमिलेको विषयमा छलफल गर्न सकिने तर त्यो अवस्था जान नहुने बताएको प्रचण्डले बिफ्रिङका क्रममा बताएको श्रेष्ठको भनाइ छ।
उक्त छलफलमा वरिष्ठ नेता माधव नेपाल, झलनाख खनाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायत सहभागी थिए। भेलामा कर्णालीको विषयलाई तत्काल थाती राख्ने निर्णय समेत भएको थियो। मन्त्रीमण्डल पुनः गठन गर्दा विवाद चर्किने भएकाले अहिलेलाई त्यो स्थगित गर्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताए।