काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आमजनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ।
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हातधुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ।
यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ।
सहकार्यबारे धारणा राख्दै एनसेलका प्रमुखकार्यकारी अधिकृत एन्डी चोङले भने, ‘यस विषम् परिस्थितिमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै हाल तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नकालागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौं। निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिककारुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भुमिका निर्वाह गर्दै आएको छ। कोरोना जस्तो संकटको सामना गर्नको लागि विभिन्न सरोकारवालाहरुसँगको सहकार्य आवश्यक पर्दछ जसले गर्दा सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्घको अभियानमा ठूलो सहयोग पुग्छ। कोरोना विरुद्घ एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो। नेपाली जनताको सेवागर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन।’