काठमाडौं- नयाँ निर्वाचनमार्फत अमेरिकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि नेपाल–अमेरिका सम्बन्धबारे चर्चा सुरु भएको छ।
पूर्वपरराष्ट्रसचिव एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूतहरू अन्तर्राष्ट्रिय उदारवादी वातावरण हुने, अन्तर्राष्ट्रिय धु्रवीकरणको प्रक्रिया मत्थर हुने, मध्यपूर्वको तनाव मत्थर हुने र नेपालमा मिलिनियम कर्पोरेसन (एमसिसी)बारे नयाँ शिराबाट छलफल सुरु हुने टिप्पणी गर्छन् ।
पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यको विश्लेषणमा अमेरिकामा नेतृत्व परिवर्तनले नेपाल–अमेरिका सम्बन्धमा धेरै फरक नपर्ने, तर विश्वव्यापी लोकतान्त्रिक वातावरण बन्ने हुनाले त्यसबाट नेपाललाई पनि सहज हुने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
‘बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिससँग नेपालीको पहुँच रिपब्लिकनहरूको भन्दा सहज छ । इन्टरनेसनल अर्डर फ्रेन्ड्ली हुन्छ । बाइडेन उदारवादी धारका हुनाले त्यसले हामीलाई पनि राम्रै हुन्छ,’ आचार्यले भने ।
कागजात नपुगेर अमेरिकामा चिन्तित भएका नेपाली समुदायका लागि बाइडेनको विजयले राहत दिलाउने आचार्यको बुझाइ छ । किनकि निवर्तमान हुँदै गरेका रिपब्लिकन पार्टीका राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई आफ्नै देश फर्काइदिने चेतावनी दिएका थिए।