गोरखा- निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र क र ख का लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त चार करोड रुपैयाँ विभिन्न ५० योजनामा बाँडफाँट गरिएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्रलाई दिने २ करोड रुपैयाँबाट दुबै निर्वाचन क्षेत्रले २५/२५ वटा योजना छनोट गरेका हुन् ।
जसमध्ये गोरखा नगरपालिका कार्यालयदेखि सिमलगैरी नौबिसे सडक स्तरोन्नतिलाई २५ लाख र ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकलाई २५ लाख रुपैयाँ विनियोजन गरिएको हो । पालुङटार नगरपालिका–२ को रातडाँडा युवा क्लबको खेलमैदान निर्माण गर्न १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई चार लाख छुट्याइएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र २ (ख) मा प्राप्त दुई करोडमध्ये बारपाक सुलिकोट गाउँपालिका–२ पर्ने राङरुङ कोदेफेदी तुम्सीका मोटरबाटो बनाउन २५ लाख, अजिरकोट गाउँपालिका– ४ स्थित बसेल कृषि तथा पशु फार्म निर्माण गर्न २५ लाख र सिरानचोक गाउँपालिका–५ मा चाँदनी हरिबले लालीगुराँस सामुदायिक भवन बनाउन २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रमअन्तर्गत क्षेत्र नं २ (ख) मा प्राप्त रकमबाट सिरानचोक–३ हार्मीमा चम्पावती माविमा घेराबार बनाउन १० लाख, वडा नं–८ मा रहेको चिप्लेटी खप्टे उम्रुङ सामुदायिक भवन बनाउन ९ लाख, वडा नं–६ मा नामरुङ आमा समूहको भवनका लागि ९ लाख, बारपाक सुलिकोट– ३ मा रहेको माझथर मावि घेराबारका लागि ८ लाख, बारपाक सुलिकोट ३ को हुवामे ठोमो, छेलिङ, बौद्ध समाज घर अधुरो भवन बनाउन ७ लाख र अजिरकोट– ४ को हिमालय माविको घेराबारलाई ८ लाख रुपैयाँ विनियोजन गरिएको हाे।