काठमाडौं- जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ।
यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौँ सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको खबर आजको नयाँ पत्रिका दैनिकमा सप्तरीबाट भोला पासवानले लेखेका छन्।
कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो।
जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो।