काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिको संख्या लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कूल संख्या १ लाख ८७२ पुगेको हो। तिनमा काठमाडौंका ८१ हजार ५८८, ललितपुरका ११ हजार ९४८ र भक्तपुरका ७ हजार ३३६ जना छन्।
तर तीमध्ये ८७ हजार ६९२ जना निकाे भइसकेका छन् भने ४ सय ८८ जनाकाे मृत्यु भइसकेकाे छ।
निकाे भएकामध्ये काठमाडौंका ७१ हजार ५९१, ललितपुरका ९ हजार ६३१ र भक्तपुरका ६ हजार ४७० जना छन् भने मृतकमध्ये काठमाडौंका ३ सय १६, ललितपुरका ८९ र भक्तपुरका ८३ जना छन्।