काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन्।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक राजश्व विभाग र मातहतका राजश्व कार्यालयहरूलाई यस्तो निर्देशन दिएका हुन्।
स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताउँदै उनले कर परीक्षण, बक्यौता असुली, प्रशासनीक पुनरावलोकन, बजार अनुगमन र अनुसन्धान जस्ता परिपालनाका विधि कडाइका साथ लागू गर्न निर्देशन दिए।
अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए।
यस्तै उनले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न पनि निर्देशन दिएका थिए। यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको सून्य सहनशीलताको नीति पालना गर्न पनि उनको निर्देशन छ।
मन्त्री पौडेलले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रूपमा नभइ, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए।