काठमाडौं- नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ।
नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक देखिएका खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।
नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् ।
‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले कांग्रेसले सरकारले जाने कुरा सोच्नु पनि निरर्थक हो । हामीलाई जनताले दिएको मत नै प्रतिपक्षमा रहेर जनताको आवाज उठाउनका लागि हो । हामी प्रतिपक्षमै रहन्छौँ । बरु आवश्यकता प¥यो भने हामी फ्लोर समर्थनचाहिँ गर्न सक्छौँ,’ उनले भने, ‘०५२ सालमा एमाले पहिलो पार्टी बन्दा पनि हामीले मनमोहन अधिकारीजीलाई प्रधानमन्त्री बनाउन फ्लोर समर्थन गरेकै हो । त्यसवेला कांग्रेसकै सहयोगमा उहाँहरूले नौ महिना सरकार चलाउनुभएको थियो । त्यसकारण संसदीय अभ्यासमा फ्लोर समर्थनका आधारमा पनि सरकार चल्छ । हाम्रो चाहना त कुनै पार्टी नफुटोस्, बरु सरकारले राम्रो काम गरोस्, देशको हितमा, जनताको हितमा भन्ने हो।’