काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा कूल जनसंख्यामध्ये ३ प्रतिशत मानिसलाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र को-को पर्छन् भन्ने यकिन गरिएको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अगुवाइमा पहिलो चरणमा नेपालका ३ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउने तयारी छ। लगत्तै दोस्रो चरणमा १७ थपेर २० प्रतिशत नागरिकलाई खोप दिइने योजना बनाइएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।
डब्लूएचओ, विश्वव्यापी भ्याक्सिन सञ्जाल ‘गाभी’, महामारीविरुद्धको गठबन्धन ‘सेपी’ को सहकार्यमा उपलब्ध हुने यो सुविधाले नेपालसहित ९२ वटा निम्न तथा मध्यम आय भएका राष्ट्र लाभान्वित हुने छन्। कोभ्याक्सले यो सुविधामा सहभागी राष्ट्रलाई सन् २०२१ को अन्तिमसम्म २ अर्ब डोज खोप खरिद गरी आपूर्ति गर्ने तयारी गरेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म तीनवटा खोप निर्माता कम्पनीसँग सम्झौता भइसकेको छ भने अन्यसँग छिट्टै हुने तयारी रहेको जनाइएको छ।
कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता भइसकेकामा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा निर्मित, सानोफी तथा जिएसकेद्वारा निर्मित र सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा विकास भइरहेका खोप छन्।