गाेरखा- भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले गाेरखालीहरू बहादुरीका लागि दुनियाँभर परिचित रहेकाे बताएका छन् ।
भारत सरकारको सहयोगमा निर्माण भएकाे जिल्लाकाे तीनवटा विद्यालय उद्घाटन गर्न गाेरखा आएका उनले गोरखाका मानिसहरु आफ्नो बहादुरीका लागि दुनियाँभरमा चिनिने गरेको बताएका हुन् ।
साथै नेपाल एकीकरणको सुरुवात गोरखाबाटै भएकाले गोरखामा आउन पाउँदा खुशी लागेको बताउँदै गोरखाका मानिसहरु आफ्नो बहादुरीका लागि दुनियाँभरमा चिनिएकाे बताएका हुन् ।
‘भूकम्पले तहसनहस भएको गुजरात पुननिर्माणपछि अहिले भारतको एउटा प्रमुख आर्थिक केन्द्र बनेको छ’ उनले भने ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस् ।’
गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी माध्यमिक विद्यालय, ९ को महालक्ष्मी माध्यमिक विद्यालय र १० को तारा माध्यमिक विद्यालयको भवन उनी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले उद्घाटन गरेका हुन् ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको जनाएको छ।
सो रकमले गोरखामा २६ हजार ९ सय १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भईरहेको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाले जनाएकाे छ ।
सन् २०१८ को मार्च महिनादेखि लागू भएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भएको छ।