काठमाडौं- चीनका रक्षामन्त्री जनरल वेइ फे फेङ्गे भोलि (आइतबार) नेपाल आउँदै छन्।
परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार पहिलो वरियताका स्टेट काउन्सिलरसमेत रहेका उनी नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आउने भएका हुन्।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठ मनाउने सिलसिलामा उनले नेपालको भ्रमण गर्न लागेका हुन्। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमण क्रममा रक्षामन्त्री वेइसँग वार्ता गरेका थिए। त्यही बेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निम्ताे दिइएकाे थियो।
चिनियाँ रक्षामन्त्री फेङ्गेकाे भ्रमणका लागि परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले धमाधम तयारी गरिरहेका छन्।
नेपाल आएकै दिन आइतबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।