काठमाडौं- निकै चासोपूर्वक हेरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ।
शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव वितरण गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।
सो प्रस्ताव अध्ययन गरी अर्को बैठक मंसिर १६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘अध्यक्ष ओलीको प्रस्ताव खाममा वितरण गरियो, आज पढ्न पाइएको छैन र त्यसबारे अहिले केही भन्न सकिएन,’ पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्तुत प्रस्ताव अध्ययन गर्ने र यही बीचमा आवश्यक छलफल गृहकार्य समेत गरेर अर्को बैठक गर्ने निर्णय भएको छ।’
बैठकमा दुई अध्यक्ष र वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीको अहिलेको संकटबारे धारणा राखेका थिए।
प्रवक्ता श्रेष्ठका अनुसार उनीहरुले अहिले देखिएका समस्याका कारण पार्टी फुटतर्फ उन्मुख हुनुको कुनै कारण नभएको बताएका थिए।
‘अब १६ गते सचिवालय बैठक बस्छ, आवश्यक परे १७ गते पनि बस्छ र १८ गते स्थायी समितिको बैठक नै बस्ने तय छ, त्यहाँ पनि छलफल हुन्छ,’ श्रेष्ठले भने।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको आरोपको प्रतिवाद पेस गरेका छन्। ३८ पृष्ठको उनको जवाफमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रतिप्रश्नहरु गरेका छन्।
‘तपाईंलाई मेरो चुनौती छ- कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्,’ ओलीको जवाफमा उल्लेख छ।
ओलीले प्रचण्डको प्रस्तावलाई पार्टी विभाजनको अनौपचारिक घोषणाको रुपमा अर्थ्याएका छन्। ‘तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ,’ ओलीको भनाइ छ।
ओलीले प्रचण्डको आरोपलाई गम्भीर भएको बताएका छन्। ‘यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन। तपाईंले पार्टीका नीति या विधान सम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप समेत लगाउनु भएको छ। यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधान अनुसार कार्बाहीको भागिदार बन्नु पर्छ’, ओलीले भनेका छन्।
उनले प्रचण्डको प्रस्तावलाई विधान विपरीत भएको बताएका छन्। ‘यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो। यो प्रथम दृष्टिमै खारेजयोग्य छ। पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।
ओलीले सोधेका छन्- कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईंलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण? तपाईंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको? एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको?
हेर्नुस् ओलीको जवाफको पूर्णपाठ –