काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रेर विजयी हुन चुनौती दिएका छन ।
नेकपा सचिवालय बैठकमा तत्कालका लागि बहुमत पुगेको भरमा सो विषयलाई स्वीकार गर्न कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई दवाब बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले महाधिवेशनको चुनावी प्रतिस्पर्धामा उत्रन चुनौती दिएका हुन्।
‘आज तपाईँले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ, आफ्ना सहयोद्धा कमरेडहरूको भावना होइन, टाउका गन्न थाल्नुभएको छ। कित्ताकाट गर्न थाल्नुभएको छ,’ ओलीले प्रचण्डलाई जवाफ दिँदै भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साविक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ। बहुमतको त्यो अङ्कगणित तपाईँका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो?’
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९–बुँदे ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोग पत्र’ पेश गरेपछि सोको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रश्न गरेका हुन्।
प्रचण्डले सचिवालयका बहुमत सदस्यको मागको सम्बोधन नगरेको उल्लेख गरेपछि अबका बैठक र महाधिवेशनसम्म बहुमत र अल्पमतमा जाने हो भने आफू तयार रहेको पनि ओलीले जवाफ दिएका छन्।
‘ठिकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौँ, अनि विधान संशोधन गरौँ,’ ओलीले प्रस्ताव गरेका छन्, ‘मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ। महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो? म त तयारै छु।’
नेकपाले महाधिवेशन सहमतिको आधारमा सम्पन्न गर्ने भनेर निर्णय गरेको थियो तर सचिवालयमा प्रचण्डले बहुमतको तर्क गरेपछि ओलीले पहिलोपटक प्रचण्डलाई खुल्ला प्रतिस्पर्धामार्फत् महाधिवेशनमा आउन चुनौती पस्केका हुन्।
यो पनि हेर्नुहोस् –प्रचण्डलाई ओलीको जवाफ : कि आरोप पुष्टि गरेर मलाई कार्बाही गर्नुस्, कि जवाफदेही बन्न तयार हुनुहोस् [पूर्ण पाठ]