काठमाडौं– प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन्।
त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् ।
पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिएकाे खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।
सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए ।
३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए ।
तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ ।
त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ।