काठमाडौं- कतार ओलम्पिक कमिटीका महासचिवसहितको प्रतिनिधिमन्डल बुधबार नेपाल आउँदै छन् । प्रतिनिधिमन्डलको नेतृत्व गर्दै कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनई पनि बुधबार काठमाडौं आउन लागेका हुन् ।
प्रतिनिधिमन्डलको एक दिने भ्रमणलाई नेपाल ओलम्पिक कमिटीले महत्वका साथ हेरेको छ । नेपाल ओलम्पिक कमिटिले कतार ओलम्पिक कमिटीको प्रतिनिधि मन्डलसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
कतारले सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । २१औ एसियन गेम्सको आयोजनाका लागि कतार ओलम्पिक कमिटीले नेपालसँग औपचारिक रुपमा समर्थन माग्ने छ ।
२०३० को एसियन गेम्सका आयोजनाका लागि कतारको दोहा र साउदी अरेबियाको रियाद शहरबिच प्रतिस्पर्धा छ । ओलम्पिक काउन्सिल अफ एसियाको मुल्यांकन समितिले दुवै उम्मेदवार शहरको निरीक्षण गरिसकेको छ ।
डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औं ओसीए महासभामा यसका लागि मतदान हुने छ । यसअघि २००६ मा एसियन गेम्सको आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दै छ ।