गोरखा– हल्का ज्वरोसहित टाउको दुखेपछि अजिरकोट गाउँपालिका वडा न ४ सिम्जुङका वडाध्यक्ष जङ्गबहादुर गुरुङ काठमाडौँ आएर कोरोना टेस्ट गराए । उनको रिपोट नआउदैं नेपाली काँग्रेसले पार्टीको तल्लो तहसम्म क्रियाशील सदस्यता वितरण भन्दै बारपाक–सुलिकोट गाउँपालिकादेखि अजिरकोटका विभिन्न वडासम्म कार्यक्रम गर्यो ।
पार्टी प्रवेश कार्यक्रम काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, गाउँपालिका अध्यक्ष फणीन्द्र धिताल, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेलगायतको टोली क्रियाशील सदस्यता वितरण गर्न भन्दै मङ्सिर १० गते वडा न ४ को सिम्जुङ पुगे ।
अहिले सिम्जुङका वडाध्यक्ष गुरुङलाई कोरोना पोजेटिभ देखिएपछि काँग्रेसका केन्द्रियस्तरका देखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता कोरोनटाइनमा छन् । तर, यसबारे न गाउँपालिका जानकार छ न काँग्रेस गाउँपालिका नै जानकार छ ? अझै गाउँपालिकालाई त वडाध्यक्ष गुरुङलाई कोरोना पुष्टि भएको समेत खबर छैन ।
घटना के हो ?
वडाध्यक्ष गुरुङका अनुसार उनलाई सामान्य ज्वरोसहित रुघाखोकी लागेपछि रिपोट चाँडै आउँछ भन्दै मङ्सिर ११ गते काठमाडौँ आए । उनले ग्रिनसिटिमा स्वाब दिए । कोरोना पोजेटिभको रिपोट आयो १२ गते उनको । डाक्टरहरूको सल्लाहमा रिपोट सामान्य भएको भन्दै उनी काठमाडौँमा नै बसे । र, मङ्सिर १७ गते फेरी स्वाब दिए । बुधवार नेगेटिभ आयो । अहिले उनी कोरोनामुक्त त भए । तर, सिङ्गो सिम्जुङ नै त्रास छ ?
उनको सानो कमजोरीका कारण अहिले स्थानीयमा त्रास फैलिएको छ । जनस्वास्थ्य प्रमुख तथा अजिरकोट गाउँपालिका सूचना अधिकारी सुरेश दवाडीका अनुसार उनले कोरोना पोजेटिभ भएको सूचना बिहीबार मात्र दिएका थिए । उनी भन्छन् ‘हामीले गाउँपालिका मातहत परीक्षणका लागि लिएको रिपोट मात्र हाम्रो जानकारीमा आउँछ । वडाध्यक्षज्यूले काठमाडौँमा गएर स्वाब दिनुभएको रहेछ । त्यो हाम्रो जानकारीमा हुन्न ।’
वडाध्यक्षको सानो कमजोरीका कारण अहिले सिम्जुङ फेरी कोरोना हटस्पट बन्ने खतरा भएको छ । यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्थानीय तहको मौनताले नै यो स्थिति आएको काँग्रेसका नेता तथा कार्यकर्ता नै बताउँछन् । त्यसैले पनि गाउँपालिकाको मौनताले नै अहिले सिम्जुङमा रुवाबासी चल्ने सङ्केत देखिएको छ ।
स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै काँग्रेस
देशमा दिनप्रतिदिन कोरोना सङ्क्रमण फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक भिडभाड नगर्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय भच्चेक तथा सिम्जुङका समुदाय स्तरमा नै कोरोना फैलिन थालेपछि सिल समेत गरिएको थियो । केहि समयअघि वडा कार्यालयमा कार्यरत २ जनामा समेत कोरोना देखिएको तियो ।
तर, यस्तो समयमा पनि काँग्रेसका केन्द्रीय सदस्य पाण्डे, प्रदेशका सांसद दवाडी, काँग्रेस गोरखाका सचिव न्यौपाने, नगरपालिका मेयर पन्तलगायतको उपस्थितिमा सिम्जुङमा काँग्रेसमा पार्टी प्रवेश गराउने कार्यक्रम भयो ।
पार्टी प्रवेश गर्ने गराउने धान्नमा काँग्रेसका नेता, जनप्रतिनिधि अनि सयौँ युवाहरूले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना गरेनन् । यो दृश्यले कोरोना सङ्क्रमणलाई र यसको रोकथाम न्यूनीकरणको जिम्मा लिएका सम्बन्धी निकायलाई गिज्याएको छ ।
वडाध्यक्ष भन्छन्- सङ्क्रामक रोग ऐन विरुद्ध उजुरी दिन सक्नुहुन्छ
वडाध्यक्ष गुरुङ भने कोही कसैलाई मेरो कारणले समस्या भएको भए सङ्क्रामक रोग ऐन अर्हन्तगत उजुरी दिन उनी आग्रह गर्छन् । ‘मेरो कारणले कोही कसैलाई असर गरेको भए सङ्क्रामक रोग ऐन अर्हन्तगत उजुरी दिन सक्नुहुन्छ’ उनले टेलिफोनमा भने ‘तर, मलाई लाग्छ म समुदाय स्तरमा काम गर्ने भएकाले र निरन्तर काम गर्दै आएको हुनाले पनि समुदायमा बस्दा झन् जोखिम हुन्छ भनेर काठमाडौँ आएको हो । अहिले म पूर्ण रूपमा कोरोनामुक्त भएको छु । एक दुई दिनमा कार्यालय जान्छु ।’