काठमाडौं– नेपालले पहिलो पटक एकीकृत परराष्ट्र नीति ल्याएको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको जानकारी दिए।
यो नीतिले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने धारणा उनले व्यक्त गरे। परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।
नयाँ परराष्ट्र नीति बनाउँदा नेपालको संविधान, विभिन्न समयमा बनेका समितिले दिएका सुझाव, गत वर्ष भएको राष्ट्रिय संवाद, राजनीतिक दलका दस्तावेज, विज्ञ, अनुसन्धाताले दिएका सुझावलाई समेटिएको उनले बताए।
मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र नीतिमा गौतम बुद्ध र पृथ्वीनारायण शाहका विचारलाई आत्मसात गरिएको छ।