काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई दमौलीमा प्रहरीले पक्रनुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ खोजेका छन्।
मंगलबार प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा पौडेलले तनहुँमा प्रहरीले आफूलाई किन पक्रेको हो भन्दै प्रश्न गरे।
मंसिर १७ गते तनहुँको व्यास नगरपालिका वडा नं १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्ने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद तथा झड्प भएपछि तनहुँ प्रहरीले पौडेलललाई नियन्त्रणमा लिएको थियो।
सर्वदलीय बैठकमा सोही प्रशंग कोट्याउँदै पौडेलले सरकार सर्वसत्तावादी दिशामा अघि बढेको आरोप लगाए। उनले सरकारले नैतिक शक्ति गुमाउँदा अहिले सडकमा राजावादीहरु सलबलाएको बताए।
पौडेलले राजा हटाएपनि राष्ट्रपतिको तामझाम राजाको भन्दा कम नभएको आरोप पनि लगाए। उनले रामको जन्मभूमिबारे प्रधानमन्त्रीले अनावश्यक टिप्पणी गरेको र भारत रिसाएपछि त्यसलाई थुमथुम्याउन निकै तल झरेर मेहनत गरेको बताए।