काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारकै कारण सडकमा असन्तुष्टिका स्वरहरु सुनिन् थालेको बताएको छ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकारका गलत क्रियाकलापका कारण राजवादीहरु हौसिएको बताएको हो।
कांग्रेसले सरकार संविधानको मर्मअनुसार चल्न नसकेका कारण सरकारप्रति असन्तुष्टि बढेको र राजवादीहरु हौसियर सडकमा आएको बताएको हो। कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताए।
‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भने, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो।’
उनले सरकार सच्चिने हो भने अस्तुष्टिको हल हुने भन्दै त्यसपछि कुनै पनि प्रवृत्ति हावी नहुने बताए।
‘सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण सडकमा असन्तुसिष्ट पोखिएका हुन्, उनले भने, ‘सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन।’