काठमाडौं- विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन।
नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी रहेकाे खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।
कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्।
शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ।
‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाले मोबाइल चलाउँदैनन्’, पुनले भने।
मोबाइल नचलाउँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई समयमै खबर दिन सकेका छैनन्। राजधानीमा मानिस व्यस्त रहने र केही हुँदैन भनेर बस्ने क्रममै उपचारका लागि ढिलो भइसक्ने डा.पुनले बताए।