काठमाडौं- प्रचण्ड–माधव नेपाल समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ ।
आज पेरिसडाँडामा प्रदेश १ का नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगनाथ खतिवडाले बताए ।
सो भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले पटक पटक पार्टी विभाजन गर्नु भयो र हामीले पटक पटक त्यसलाई जोगाएका छौं’, प्रचण्डले प्रदेश नम्बर १ का नेताहरुलाई भने, ‘प्रधानमन्त्री ओलीका अनुसार गरेको भए पार्टी उहिल्यै विभाजन भइसकेको हुन्थ्यो । तर हामीले पार्टी विभाजन हुन दिएनौं र हुन्न पनि दिन्नौं ।’
प्रधानमन्त्री ओलीले आफूसँग गरेको प्रतिवद्धतामा एक घण्टा पनि टिक्न नसकेको गुनासो बैठकमा गरेका थिए ।
बालुवाटारमा भेट हुँदा ओलीले अध्यादेश फिर्ता लिने, पार्टीको सहमति र छलफल अनुसार सबै कामलाई अगाडि बढाउने, यसअघि भएका नियुक्तिहरु फिर्ता लिने जस्ता प्रतिवद्धताहरु जनाएका थिए ।
तर स्थायी कमिटीको बैठक सकिने वित्तिकै ती सबै प्रतिवद्धतालाई बेवास्ता गरेको गुनासो उनले गरेको एक नेताले बताए ।