काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका माग १० दिनमा सम्बोधन हुने जनाएका छन्। अहिले भर्खरै माइतीघरमा आन्दोलनरत उखु किसानहरूसँग कुरा गर्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता जनाएका हुन्।
मन्त्री भट्टले गत वर्ष किसानहरूसँग भएको सहमतिका लागि प्रक्रिया सुरु गर्न आफू मन्त्रालयमै व्यस्त भएको र आज प्रक्रिया सुरु भएपछि यसबारे आफूले उखु किसानहरूलाई खबर गर्न आएको जनाएका छन्।
‘उखु किसानको बक्यौता रकम तुरन्त उपलब्ध गराउन गृह मन्त्रालयसँग सहकार्यमा प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘यसरी प्रक्रियामा नजाने उद्योगका लागि कानुनी कारवाही पनि अघि बढाएका छौँ।’
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी पनि सरकारका तर्फबाट सकारात्मक कदम चाल्ने प्रतिबद्धतासहित माइतीघरमा उपस्थित भएका छन्। यसअघि आजै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि माइतीघर पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए।