गाेरखा जिल्लाको सदरमुकामदेखि करिब ७१ किलाेमिटर दुरीमा रहेकाे धार्चे गाउँपालिकाको वडा नं ३ मा अवस्थित ‘खोरला गाउँ’ हो मेरो जन्मथलो अर्थात मेरो माइतीघर। जुन उत्तरी गोरखाको मनासुलु पदमार्गमा पर्दछ। तिनै गाउँकाे एक सामन्य परिवारमा हुर्केकी एउटा घरको पाँचभाइ छोरा पछिका कान्छी छोरी म अर्थात सृजना भनेपछि त्यहा मलाई नचिन्नेहरु बिरलै छन्।
पाँच दाईहरु र बुबाआमाले भुईमा पाइला पनि टेक्न नदिई पुल्पुलाएर हुर्काएकी एक मात्र भाग्यमानी छोरी म । अहिले पनि पल्लाघरका कल्पनाहरुले छोरी मान्छेको भाग्य होस त सृजनाको जस्तो भन्दै मलाई नै सम्झिने गर्छन् अरे। हुन पनि हो, घरको एक मात्र कान्छी छोरी भएकोले एक सामन्य परिवारको चेली भएर नि मैले दुख के हो भन्ने महसुस नै गर्नु परेन, साच्चैँ रमाइलो अनि सुखद थियाे त्यो मेरो बालापन ।
पाँचभाइ दाईहरुको नि एक्लो बहिनी अनि बुबाआमाको नि एक्लो कान्छी छोरी म, सबैले मलाई असाध्यै माया गर्नु हुन्थ्यो। घरकाेकाममा मैले नि सघाउनु पर्छ भन्ने सोच ममा नि कहिल्यै पलाएन, घरकाले नि कुनै काम अह्राएनन् कहिल्यै। ठूलो दाईले बिहे गरेदेखी त झन बिहान नौ बजेको खाना समेत भाउजुले ओछ्यानमै ल्याइदिनु हुन्थ्यो।
बरु एउटा सम्झना ताजै छ। एकदिन साइला दाईले पानी ल्याउन भनेको थ्यो मलाई, त्यतिखेर उहाँ हलो तास्दै हुनुहुन्थ्यो। आफुले नभ्याएरै सायद मलाई भनेको हुनुपर्छ दाईले, मैले जान्न भने। दाईले थोरै ठूलो स्वरमा हप्काउनु भो, आमाले मेरै बचाउ गरी दाईलाई नै गाली गर्नु भो त्यो दिन।
अर्थात म यतिसम्म बिग्रेकी रहेछु उहाँहरुकै स्नेहले भन्ने अनुभुति तब भयो जब मैले मेरो माइतीघर छोडेँ। सम्झनाले नि आँखा रसाउछ मेरो, अहिले पश्चताप गर्दैछु मनमनै कि एक गाग्री पानी ल्याउन पनि आनाकानी गरेछु मैले अनि दिनभरी भेडाको उनका धागो काढ्दै बख्खु बुन्दै गर्या उनै बुढी आमालाई नै पानी ल्याउन पठाइएछु। अहिले त घर-घरमै पानी धारा छ। बिहानै उठी पँधेरोबाट पानी ल्याउने कुरा त एकादेशको कथा बनेको छ त्यो गाउँमा।
पेशाले म नर्स अर्थात स्वास्थ्य स्वयंसेविका, पोखराको लेकसाइडमा आफ्नै घर छ। आफ्नै घरको एउटा सटरमा आफैले फार्मेसी खोलेको छु। यहि एउटा सटरको सिमित कोठाभित्र एउटै कुर्सीमा दिन, हप्ता, महिना हुँदै बर्ष बित्छ निरन्तर, यहि मेरो कर्मथलो बनेको छ।
बुबा भेडी गोठालो अनि आमा सामन्य खेतीकिसान गाउँ ठाउँको। खेतीपातीमा उब्जनी हुने भनेको मकै, कोदो, गहुँ, जौं, केराउ, भट्टमास आदि इत्यादी। अर्थात समुन्द्री सतहदेखी करिव १६६१ मि. उचाईमा रहेकाे खोरला गाउँमा धान भने हुदैन। त्यहाँको प्रसिद्ध उब्जनी भनेको भट्टमास हो।
खोरला गाउँको भट्टमास भनेपछि मुखै रसाउने गर्छ उत्तरी गोरखामा जो कोहिको पनि। सदरमुकाममा समेत गोरखा बजारमा खोरलाको भट्टमास भनेपछि दिइसकेको सेकुवा र सुकुटीको अर्डर क्यान्सल गरेर भट्टमास नै खान्छन् भनी सुनाउने गर्छन् त्यहाँका केही खाजाघर मालिकहरूले ।
दाईहरु पाँचै जना मात्र पाँच पास, तर पनि ब्यावहारिक काम कुरा वा कर्तव्य र जिम्मेवारमा उत्कृष्ट खुवी राख्न सक्षम पाँचै जना। उनै पाँचभाई दाजुभाई र बुबाआमाको अपार माया, साथ सहयोग र मेहनतले नै म अहिले यो ठाउँमा छु। मेरो दाईहरुले पाँच भन्दा माथी पढ्न नपाउनुको मुख्य कारण भनेको सामन्य परिवारको भन्दा पनि त्यो बेला गाउमा पाँच भन्दा माथिको स्कुल नहुनु नै थ्यो। म पनि छ कक्षामा भर्ना हुन बुबाले सदरमुकाम ल्याउनु भएको हो। बहिनीले पढ्न पाउनु पर्छ भनेर मलाई सदरमुकाम पठाउनुमा मेरो पाँचै दाईहरुको ठूलो हात छ।
सदरमुकामको झिलिमिली शहरमा बसेर पढिरहदा दाईहरुले मलाई सधै सचेतना जगाई रहनु हुन्थ्यो। एक्लो बहिनी राम्रो पढ्नुको सट्टा कतै शहरबजारको हावापानीले नबिगृयोस भन्ने चिन्तन थियाे उहाँहरुलाई। गाउँबाट शहर बजार झरेपछि छोरी चेली बिग्न्छ भन्ने एक खालको भ्रम थियाे मेरो घर छिमेकमा पनि, मैले त्यो कुरा राम्ररी बुझेका थिए। त्यही भएर मैले नि मन लगाएर पढेँ।
मेरो दाईहरुलाई नि एक्लो बहिनीको गर्व होस, शहर बसेर पढ्न थाले सि बहिनी बदलियो भन्ने आभास नहोस भनेरै मैले शहरमा पनि सधै लुंगी लगाएर हिन्ने गर्थ्ये। अहिले भने कहिलेकाही ट्र्याक सुटमै हुन्छु।
एसएलसीमा प्रथम स्थान हासिल गरेर घरकालाई खुशी पार्ने मेरो एउटै सपना थियाे। तर, म प्रथम हुन सकिन्, दृतिय श्रेणीमा पास भैछु। घरपरिवारहरु सबै खुशी हुनु भो, म भने थोरै निराश नै भएँ। किनकी मेरो टार्गेट प्रथम हुनु थियाे ।
मैले एसएलसी पास गरेको खुशियालीमा हो अरे ठूलो दाईले साउदीबाट मलाई एउटा मोबाइल ल्याईदिनु भो, स्कृन टच मोबाइल। त्यतिखेर स्कृन टच मोबाइल भर्खर भर्खरै बजारमा आउदैथ्यो, अहिले जस्तो छ्याप्छ्याप्ती फिँजिएको थिएन। त्यही मोबाइलले भने मलाई मोहनी लगाई भ्यायो। ईन्टरनेटको जमना बडो इन्टरेष्टिङ हुदोरहेछ।
यीनै मोबाइल र ईन्टरनेटमा भुलेरै बिस्तारै बिस्तारै मैले मेरो घरबाट सिकेको कर्तव्य र जिम्मेवारीका कुराहरु भुल्न थालेछु। पढाईमा कम फेसबुकमा बढी जान थाले ध्यान मेरो। आखिर यीनै फेसबुक फ्राइन्डसिप नै हाम्रो रिलेसनसिपको माध्यम समेत बन्यो मेरो।
यसो त म बिहे गर्दिन भन्थ्यौं। कारण करिव पन्ध्र सोह्र बर्ष अघिको कुरा हो, एकताका मामाघर जादा बारपाकमा पहिलो चोटी टिभी हेर्ने मौका मिल्यो मेरो। जहाँ मैले बिहेको दिन बेहुली बनेर जादा भाव विव्हल भई रुदै गको एक दृश्य देखे। कुन चलचित्र र कुन समुदायसंग सम्बन्धित थियो कुन्नी, जसले चसक्क मन घोचेको थ्यो मेरो। मामाघरबाट फर्के सि मैले बुबालाई समेत म कहिल्यै बिहे गर्दिन भन्न भ्याएछु। त्यतिखेर म सायद दश एघार बर्षकी थिएँ। बुबाले मलाई हेर्दै हैन छोरी तिमिलाई आज बिहेको कुरा कहाँबाट आयो हँ भन्दै मुसुक्क हास्नु भो।
समय बित्दै गयो।
म पनि गाउँबाट सदरमुकाम आई पढ्ने भएँ।लेखेको हुन्छ देखेको हुन्न भने झै देख्दै नदेखेको मान्छेसँग यता मेरो मनपेट मिल्न थालिसकेको थ्यो फेसबुक च्याटमै। कुनै बेला म बिहे नै नगर्ने भन्ने मान्छे, समयले नै मलाई बिहे गर्न राजी गराई भ्यायो। उता घरमा बुबाआमालाई भने मलाई गाउँकै मुखियाबाको छोरालाई दिने मनासय रहेछ। दुई घरपरिवार बिच भित्रभित्रै कुरा समेत मिलिसकेको थ्यो अरे, दशै बिदामा घर जादाँ आमाले बताउनु भो। म झसङ्ग झस्केँ अनि आमालाई हुन्न आमा भनें।
आमाले बुबालाई छोरीले त हुन्न भन्या छ भनेर सुनाई हाल्नु भैछ। बेलुका बुबाले किन हुदैन भनेर कराउन थालिहाल्नु भो। मैले कुनै कुरा लुकाइएन, भको सबै कुरा बताएँ। त्यसपछि त झन खट्पट सुरु भो। बुबा बिच बिचमा हास्दै चिन्नु न जान्नु, देख्नु न बुझ्नुसंग माया बस्यो अरे, तिम्लाई हाम्ले पढ्न पठाएको कि माया लाउन भन्दै रिसाई रहनु भो केहि छिन।
यतिकैमा साइला दाईले ठिकै छ नि त बुबा, बहिनीले रोजेको मान्छे पनि त हेरौं एकचोटी। आखिर उनकै खुशिको कुरा त हो नि भन्दै बुबालाई सम्झाउनु भो। दाईको यो कुरा सुनेपछि बुबा केही बोल्नु भएन। बुबाको त्यो मौनतामा एक त छोरीको खुशी अनि अर्को मुखियाबासंगको सम्बन्धमा तिक्तता छाउने चिन्तन मैले राम्ररी बुझेँ। त्यसपछि मैले साइला दाईलाई नै मुखियाबालाई मेरो कुरा र बुबाको अप्ठ्यारोपना बारे खुलस्त भन्न पठाएँ।
सबै कुरा सुनेपछि मुखियाबाले छोराछोरीको खुशी नै हाम्रो खुशी हो, अप्ठ्यारो नमान्न भन्नु बुबालाई भनी सुझाएर पठाउनु भैछ दाईलाई। त्यसपछि भने बुबाको पनि चित्त बुझ्यो क्यारे, केटा चाँही कहाँको हो । अरे छोरी भनी सोध्नु भो। पोखराको हो बुबा भन्न नभ्याउदै एकचोटी गाउँमै आएर हाम्लाई नि भेट्न आऊ भन्नु नि त भनिहाल्नु भो। यसो त हामी पनि फेसबुक र फोनमा मात्रै चिनजान, देखभेटै नभको।
त्यो बेला अहिले जस्तो जहातही नेट चल्दैनथ्यो। भोलिपल्ट बिहानै म गाउँ माथिको खोरलाकोट डाडामा गएँ अनि सदा झै भको सबै कुरा मैले फोनमा उहाँलाई सुनाए। जवाफमा उसले हुन्छ ठिकै छ नि त, मलाई पनि आउने मन छ। म बुबासंग गोरखा घुम्न जाने अनुमति लिन्छु अनि आउछु नि त ल? भन्नुभो। उहाँको बुबा अर्थात अहिलेको मेरो ससुराबा भूपू बृटिस आर्मी हुनुहुदो रहेछ भन्ने कुरा मलाई पनि त्यही दिन मात्र थाहा भयो।
उहाँहरु जमनामै लेकसाइड झरेको सिक्लेस निवासी हुनुहुदो रहेछ। त्यो बेला मेरो घरपरिवारमा पोखराको लेकसाइडमा घर भन्नु र सगरमाथामा हिउँ भन्नु उस्तै थ्यो। न मलाई थाहा थ्यो, न त मेरो घरपरिवारलाई नै। बास्तबमा यो ठाउँ पोखरा उपत्यकाकै सबैभन्दा रमाइलो ठाउँ रहेछ। त्यो बेला बरु लाहुरेको छोरा रहेछ भन्ने कुराले चाहीँ घरमा केही महत्व राखे जस्तो मलाई बिहे भएर आएको पनि अब झन्डै पाँच बर्ष हुन थालेछ।
यो रमाइलो ठाउँ अनि झिलिमिली शहरमा छ ज्यान मेरो, तर मन भने उतै मेरो माइतीघर तिरै। सपनीमा नि म उतै डुलिरहेको हुन्छु, यो आफ्नै घरमा बसेको सपना त अहँ अझै कहिल्यै देखिएन। बिहे पछि म हरेक छ /छ महिनामा बुबाआमालाई भेट्न जाने गरिरहन्थ्ये। अहिले भने झन्डै डेढ बर्ष भइसक्यो माइत नगको। बुढा पोखराकै एक सरकारी अस्पतालमा कार्यरत डक्टर, म आफ्नै फार्मेसीमा ब्यस्त। अर्कोतिर महामारी कोरोना भाइरसको प्रभाव अनि काखमा भर्खरको छोरा, यस्तै यस्तै कारणले यसपटक भने धेरै लामो समय भो मैले मेरो माइतीघर पाइला नटेकेको। तर पनि सोसियल मिडिया मर्फत धेरै नजिकबाट नियाली रहेको छु।
धार्चे गाउपालिकाले पर्यटन क्षेत्रमा बिशेष जोड दिईरहेको बेला बेलामा समाचार आइरहेको देख्न पाउँदा गर्व लाग्छ। धार्चे प्रमुखज्युको हरेक अन्तरबार्ता बडो ध्यानले हेर्ने गर्छु म। यसै त प्रकृतिको सौन्दर्यताले भरिपुर्ण हाम्रो देश हाम्रो ठाउँ, पर्यटन क्षेत्रलाई विशेष प्रबर्द्धन गरिरहेका धार्चे गाउपालिकाले झन अतुलनीय शोभा बढाइरहेको छ।
अब त माघ पन्ध्रको खोरलाबेंसीमा बर्षेनी लाग्ने ऐतिहासिक तातोपानी मेला पनि नजिकिदैछ। सोच्दैछु बुढालाई माघमा दुई साताको छुट्टी लिन लगाउछु अनि यसपाली सासुससुरालाई नि लिएर स-परिवारै धार्चेको डाडापाखा अवलोकन गर्ने भ्रमण तय गरुँ। स-परिवारै धार्चे डाडाको इपिसेन्टर ट्रायल अवलोकन गर्दै गुप्सी पाखाका लाप्राक नमुना बस्ती घुम्नु छ । स-परिवारै नौंलीखोलाको वाटरफल अनि क्यानोनिङको मजा लिनु छ। स-परिवारै मेरो माइतीघर खोरला गाउँको आँगनमै रहेका लिङ्लिङ पुसामा रमाउदै सेल्फी हान्नु छ।
यसैगरी सपरिवारै खोरलाकोट देखि माथी उक्लेर थरीथरीका गुराँस फुल्ने लेकका गाइगोठ र भेडिखर्कका रमणिय फाँटहरु नियाल्दै माल्कुन्ती पिक चढी पहाडको चुचुरोमा रहेका माल्कुन्ती दर्शन गरेर उहियाको लेक हुँदै नेसराङ छ्हो हिमताल अवलोकन, त्यस्तै दिङ्लेगङमा रहेका प्रकृतिले दिइएको बुद्ध दर्शन गर्नु छ ।
अनि यारु बगरको क्यान्टिलिभर पुल हुँदै उहिया गाउँ मुनिका नेचुरल तातोपानीमा नुहाई खोरलाबेंसीको ऐतिहासिक तातोपानी मेलामा दुईचार दिन साथिसंगिहरुसंग रमाइलो गर्दै धार्चे गाउपालिकाको कार्यलय नजिकै माछाखोलामा रहेका तातोपानी कुण्ड समेत अवलोकन गरी पोखराको लेकसाइडका आफ्नै घरमाआई विश्राम लिने मन छ।