काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न खुमलटार जाँदैछन्।
आज बिहानै चिया खाने गरी प्रधानमन्त्री खुमलटार जान लागेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। उनी खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
‘मैले पनि प्रधानमन्त्रीज्यु अध्यक्ष प्रचण्ड कमरेड भेट्न खुमलटार जाने भन्ने सुनेको छु,’ उनले भने ‘प्रधानमन्त्रीज्युलाई बिदाइ गर्न बालुवाटार जाँदै छु।
पार्टी विवाद बढदै जाँदा ओली प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन्। प्रधानमन्त्री भएपछि ओली पहिलो पटक प्रचण्ड भेट्न खुमलटार जान लागेका हुन्।
पार्टीभित्र आन्तरिक संघर्ष चर्किएको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई ओली लचक बनेको रुपमा अर्थ्याएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।