काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ।
पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको खबर आजको राजधानी दैनिकमा पूजा चँदाराले लेखेकी छन्।
प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ।
काठमाडौंलगायत देशका विभिन्न सहरमा बिहानदेखि रातिसम्म दर्जनौं पटक लाइन आउन–जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ। यतिबेला सर्वसाधारणले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्राधिकरणको व्यवस्थापनप्रति औंला उठाइरहेको पाइन्छ।
प्राधिकरणका अनुसार मंगलबारको ग्राफ हेर्दा ‘पिकआवर’मा विद्युत् माग अहिलेसम्मको सबैभन्दा बढी १४ सय ४३ मेगावाट पुगेको थियो । जब कि त्यसै दिन राति ७१५ मेगावाटसम्म विद्युत् खपत भएको थियो।
गत वर्षको सोही दिन १२ सय ६५ मेगावाट विद्युत् मात्रै माग भएको थियो । यसरी हेर्दा झन्डै दुई सय मेगावाट विद्युत् माग बढेको छ । विद्युत् माग बढ्दा सिस्टममा ओभर लोड भएर केही प्राविधिक समस्या देखिएकाले यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणको दाबी छ।