काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ।
नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ । टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको छ।
‘अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ, यही बिन्दुबाट नेपालमा अस्थिरता र अन्योल सुरु हुने र विदेशीको प्रभाव बढ्ने हो कि भनेर चीन चिन्तित छ,’ चिनियाँ दूतावासनिकट स्रोतले भन्यो, ‘चीनको सद्भाव, चासो व्यक्त गर्ने मात्र होइन, नेकपालाई फेरि जुटाउन पहल गर्ने उद्देश्यले टोली नेपाल आएको हो।’