काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर महागल्ती गरेको नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
प्रमुख प्रतिपक्ष दलले सरकारका काममा अवरोध नगरेको शर्माले उल्लेख गरे। तीन वर्षमा कांग्रेसले चारपटक मात्रै सडकमा प्रर्दशन गरेको बताए। संविधानमा हुँदै नभएको व्यवस्थाले संसद विघटन गरिएको उनले तर्क गरे।
संसद खोज्न सडकमा कांग्रेस आएको उनले प्रष्ट्याए। प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानप्रति बदनियत रहेको जनाउँदै उनको कदमले वर्षैपिच्छे चुनाव हुने परिस्थिति निर्माण हुने तर्फ सचेत बनाए।
प्रतिनिधि सभा विघटनको दोषीमा प्रधानमन्त्री पहिलो स्थानमा रहेको उल्लेख गर्दै नेता शर्माले त्यसपछि प्रचण्ड र माधव नेपाल दोषी रहेको आरोप लगाए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्व राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्न सुझाए।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ ले कोटेश्वरमा गरेको विरोध सभामा शर्माले प्रधानमन्त्री ओलीको आलोचना गरे। ओलीको बल उखान टुक्कामा रहेको बताउँदै झापाली नेता शर्माले भने, ‘झापामा उखानको बोट कहाँ छ मलाई पनि थाहा छ।’