काठमाडौं- नेकपाको (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला पुगेर आफूहरूले नेतृत्व गरेको नेकपा मूल पार्टी भएको दाबी गर्दै स्थानीय जनप्रतिनिधिलाई भने, ‘तपाईंंहरूले आचरणअनुसार काम गर्नुभएन भने मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष वा उपाध्यक्षबाट पार्टीले हटाउन सक्छ।’
नेता भट्टराईले शनिबार झापामा आयोजित कार्यक्रममा बोल्दै संस्थापनतिर नलागे स्थानीय तहका जनप्रतिनिधिसभा पद नै धरापमा पर्ने बताए।
‘म स्थानीय तहका जनप्रतिनिधि साथीलाई भन्न चाहन्छु, पार्टी विभाजन भयो भने तपाईं कुन पार्टीको हो? सूर्य चिह्न हामीसँग हुन्छ, पार्टीको नाम हामीसँग हुन्छ, हँसिया–हथौडा चिह्न हामीसँग हुन्छ,’ भट्टराईले भने, ‘तपाईंले दलसम्बन्धी कानुन पढ्नुभएको छैन भने स्थानीय तहका साथीहरू गएर पढ्नुहोला । यदि तपाईंले दलको आचरणविपरीत काम गर्नुभयो भने पार्टीले हटाउन सक्छ । पार्टी सदस्यबाट मात्रै होइन, फलाना ठाउँको मेयरबाट, फलाना ठाउँको गाउँपालिकाको अध्यक्षबाट पनि हटाउन सक्छ।’
नेकपाको आधिकारितालाई लिएर निर्वाचन आयोगमा दुवै पक्षका दाबी छन् । तर, भट्टराईले विभाजनमा ओली समूहमा लागेका जनप्रतिनिधिको पद धरापमा पर्न सक्ने चेतावनी दिए । ‘तपाईं सूर्य चिह्नबाट लडेको हो भने सूर्य चिह्नको पार्टीमा आउनुस् । होइन, हामी भड्खालोमा जान्छौँ भन्नुहुन्छ भने जानुस् । तपाईंको ठाउँमा उपमेयर होलान्, उहाँले गरिहाल्नुहुन्छ नि, तपाईंको ठाउँमा उपाध्यक्ष होलान्, उहाँले गर्नुहुन्छ नि , त्यो पनि हुनुभएन भने सिनियर वडाध्यक्ष उम्मेदवार छन्, के फरक पर्छ ’ भट्टराईले चेतावनी शैलीमा भने, ‘तर, यो कानुन तपाईंहरू धेरैलाई थाहा छैन है । आजै गएर पढ्नुहोला । मैले धम्की दिएको होइन, सम्झाएको हुँ । मेरो दायित्व तपाईंहरूलाई सम्झाउने हो । कतिपय ठाउँमा उपमेयर साथी तयार भएर बस्नुस्, मेयर हुँदै हुनुहुन्छ छिटै।’
भट्टराईको यो अभिव्यक्तिले झन्डै डेढ वर्ष कार्यकाल बाँकी रहेका स्थानीय जनप्रतिनिधि पद सुरक्षाको बहस सिर्जना गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले लेखेका छन्।