काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छन्।
मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरुको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताएकी हुन्।
‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरुलाई खुसी बनाउन सकिँदैन’ उनले भनिन्, ‘किसानहरुले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिती राम्रो होइन। दुध उत्पादन गर्यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने, ऋण थप्ने कुरा राम्रो होइन।’
बजारको ग्यारेन्टी गर्नेगरी नयाँ ढंगले जानुपर्ने भन्दै उनले हिजोको परम्परावादी योजना, सोचले अब अगाडि बढ्न नसकिने बताइन्।