काठमाडौं– नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पोखरा कार्यालयमा विद्युत लाइन काटेको छ। प्राधिकरणको लेखनाथ वितरण केन्द्र पोखराले एनसेलमा दिइएको विद्युत लाइन काटेको हो।
एनसेलले १३ करोड ८० लाख रूपैयाँ विद्युत महसुल नबुझाएपछि लाइन काटिएको हो। प्राधिकरणको लेखनाथ वितरण केन्द्रले एनसेललाई काटेको पत्रअनुसार कम्पनीले गत भदौमा नै एनसेललाई बक्यौताको जानरकी गराइएको थियो।
एनसेलले यसको विरुद्धमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो। अदालतले प्राधिकरणलाई अघि बढ्ने बाटो खोलिदिएसँगै एनसेलमा दिइएको विद्युत लाइन काटिएको हो।
प्राधिकरणले आइतबार विहान १० बजेर ४६ मिनेट जाँदा एनसेलको कार्यालयमा दिइएको विद्युत लाइन काटेको जानकारी गराएको छ।
यसको जानकारी नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय र कुन विभाग काठमाडौंलाई गराइएको लेखनाथ वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए।
प्राधिकरणले दिएको पत्र एनसेलका प्रतिनिधि भुवनेश्वर महतोले बुझेका छन्। प्राधिकरणले छुट बिलका रूपमा एनसेललाई भदौमा १३ करोड ८० रुपैयाँको बिलिङ गरेको थियो।