काठमाडौं- करिब नौं महिनापछि खुलेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्रविधिलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन्।
गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नभएको बताए।
अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जानकारी दिए। उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए।
माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फर्म भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनुपरेको छ । धेरै जनाले फर्म भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फर्म भर्ने साइट नै डाउन हुने गरेको छ।
विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोकेको थियो। सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फर्म भर्न पाएका छैनन्।