भुकम्पको केन्द्रबिन्दु बारपाक अनिसंगै जोडिएको लाप्राक जान योजना बनाएको दशक बढी भैसक्याे होला। मनासलु स्कुलमा कक्षा चारमा पढ्दै गर्दा हो सायद ।
लाप्राकबाट पढ्न आएको मेरो ‘आजिवन साथी´ शिव गुरुङको मुखबाट लाप्राकको बखान सुनेपछी। छिमेकी गाउँपालिका भएरै पनि मलाइ त्यो मेसो कहिल्यै जुरेन।
अथवा,
मेसो जुराइएन।
आमा मैले लाप्राकको कुरा गर्ने बित्तिकै भन्नुहुन्थ्यो-‘उहिल्यै म एकचोटि आलू लिन गएको थिएँ । ओहो, त्यस्तो अफ्ट्यारो बाटो कसरी पुग्छस् ?’
कुरा जति गरे पनी, जाने पूरा तयारी गरेपनी लाप्राक जाने मेसो मिलिरहेको थिएन। म साथी शिवलाइ जिस्काउंथे- ‘तेरो बिहे छिटो गरन। त्यै बेलामात्र साइत जुर्ला जस्तो पो छत।’
त्यो साइत अहिलेसम्म जुरेन।
बिडम्बना,
नजुर्नुपर्ने साइत जुर्यो।
नहोस् भनेकै घटना भयो।
संगै डेढ दशकबढी बिताएको एक साथी मिलन गुरुङको असामयिक निधन भयो। स्वदेशमै स्नातकसम्म सकाएरअस्ट्रेलिया गएको बर्ष दिन नपुग्दै दुर्घटनामा साथी बित्यो। कोरोनाको सुरुवाती कहरमा त्यो मृत्युका अनेकौं आयामबारे लेख्न त कसरी सकिएला र ?
साथी मिलनको मृत्यु भएको बर्ष दिनको ‘अर्गुन’ माहामी मनासलु स्कुलमा संगै पढेका साथीहरू मिलेसम्म उसको पुर्खौली घर सिङ्ला जाने कार्यक्रम बनाएर त्यहाँसम्म पुग्यौं । (‘अर्गुन’ गुरुङ संस्कृति अनुसार मृत आत्मलाइ स्वर्गसम्मको ढोका खोल्ने कृया हो।)
आफन्तजन अनिसाथी भाइ बोलाएर लगातार तीनदिनसम्म लामा बोलाएर कार्यक्रम गरिने रहेछ। सिङ्लामा गाउँका प्रत्येक घरले एक भारी दाउरा, तीन माना चामल प्रदान गर्नुपर्ने अनिवार्य सर्त रहेछ। यस्तै सांस्कृतिक एक रूपता भएकाले समाज एक ढिक्का रहेछ।
हामी मनासलु स्कुलका मिलनका साथीहरूले केही आर्थिक संकलन गर्याैं । दुर्गम भेगमा केही स्वास्थ सेवा प्रदान गर्दै यो कोरोना महामारीबिच हुन गइरहेको कार्यक्रमको उपस्थितलाई मध्यनजर गर्दै पन्ध्रसय मास्क अनि पन्ध्र लिटर स्यानिटाइजर पनि बितरण गर्याैं। स्वास्थ सेवाको एक विद्यार्थी भएको नाताले मलाइ यो दुर्गमको आफुले जानेका ज्ञान बाड्न पाँउदा सन्तुष्टि मिल्यो।
करिब २८ सय मिटरको उचाइमा रहेको यो सिङ्ला गाउँबाट गणेश हिमालको काखैमुनी रहेछ। लाप्राकबाट दुई घन्टाको यात्रापछी आउने यो गाउँमा रहेका करिब सय घरहरु सबै कार्यमा एकत्रित हुने गज्जबैको नमुना प्रस्तुत गरिरहेका रहेछन् बर्तमान समयसम्म।
सिङ्लाको दुई रात बसाइँमा गुरुङ संस्कृतिबारे जान्ने बुझ्ने मात्र होइन मैले यो दुर्गम उत्तरी भेगमा सरकारी संयन्त्रको अनुपस्थितिमा गाइड अनि ट्रेकिङ ब्यवसायमा सङ्लग्न केही अगुवाहरुले गाउँको बिकासमा उल्लेख्य भुमिका खेलिरहेका रहेछन् ।

सिङ्लामा विरामी जाँच गर्दै
कसरी ?
भनौं ?
किनभने ,
सिङ्लामा बिद्यालय छ, तर बिदेशीको सहयोगमा बनेको अनि यहीँकै अगुवा रामबहादुर गुरुङ (सुके)को भुमिका रहेछ।
सिङ्लामा स्वास्थ एकाइ त रहेछ, तर औषधिलगायत जनशक्तिको ब्यवस्थापन चाहिँ उही रामबहादुर लगायतले फ्रेन्च नागरिकको सहयोगमा ब्यवस्थापन गरिएको रहेछ।
यहाँ यो उचाइमा पनि चौबीसै घन्टा तातोपानी आउने सार्वजनिक धाराहरु छन् तर यो पनि उहि फ्रेन्च नागरिकको सहयोगबाट निर्माण गरिएको रहेछ।
यति देखेपछी म एउटा कुरामा प्रष्ट भएं-सिङ्लाको बिकासमा सरकारी निकाय भन्दा कयौं गुना बढी योगदान रामबहादुर गुरुङलगायतको अभिभावकत्व रहेछ । अझ, खुसीको कुरा, गाउँको अगुवाइ गर्ने रामबहादुर गुरुङ हाम्रै साथी मिलनको अन्कल हुनुहुंदो रहेछ।
लाप्राक-सिङ्लालगायतका उत्तरी गोरखालाई ‘महसुस’ गरेपछी मैले अबका केही’गाउँघर’मा देखेका-भोगेका कुराहरु लेख्नेनै छु।
आज,
यो लेखमा मैले आफ्नो छोरा गुमाएको यस्तो दुखत परिस्थितिमा पनि हामीलाई देखाउनु भएको माया, गर्नुभएको सम्मानका लागि मिलनका परिवार हामी आभारी छौँ । मिलनको बुबाले भनेको सम्झन्छु- ‘तिमीहरू सबैमा मैले कहिँ कतै मिलनको अस्तित्व देखि रहेकोछु।अब, बाबुहरुले हामीलाई सम्झिरहनुहै।’
मिलनको बुबा हामी मनासलु पढ्दा त्यहीँ क्यान्टिन चलाउनु हुन्थो जसले उहाँ हामीलाई देखेर अझ बढी भावनात्मक रुपले नजिक हुनुभयो।
गाउँमा हरेक कुराहरूमा अभिभावकत्व प्रदान गरिरहनु भएका मिलनका अन्कलले आउने बेला भन्नुभयो -‘तिमीहरू आफ्नो साथीको मायाले डोर्याएर यहाँसम्मयो कठिन भूगोल पार गरेर जसरीआयौ, त्यसले मिलनप्रती तिमीहरूको माया देखाउंछ।’
हाम्रो मित्रताका कुरा यो भन्दा बढी गर्न नै किन पर्यो अब !
तर,
फेरि लेख्दैछु- ‘७ बर्ष बढी एउटै बेन्चमा बसेर संगै हांस खेल गरेको साथीको असमायिक दु:खत निधनले दुखित परिवारलाई यो घडीमा शोकलाई शक्तिमा बदल्ने शाहस प्रदान गरोस् भन्ने कामना गर्दै हामी उसका सहयात्रीहरुअबको यात्रामा कुनै-कुनै किसिमले जोडिरहने बिश्वास पनि छ।’
प्रिय साथी मिलन,
हामी तिमीलाई सदा-सदा सम्झिरहने छौं।
अस्तु।