काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको छ।
गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक हमला ट्रम्पकै उक्साहटमा भएकाे आरोपमा साेमबार उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएकाे हाे।
गत बुधबार डेमोक्रेटिक पार्टीका नेता जो बाइडननले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा हासिल गरेको जितलाई प्रमाणित गर्ने विषयमा सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हतियारसहित आक्रमण गरेका थिए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्धकाे महाभियोग प्रस्तावमा छलफल र मतदानका लागि भाेलि बुधबार बिहान ९ बजे प्रतिनिधिसभा बैठक बस्नेछ।
यसअघि सोमबारै ट्रम्पलाई संविधानको २५औं संशधोनमार्फत ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बाट हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आह्वान गर्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरिएको थियो। तर वेस्ट भर्जिर्नियाका रिपब्लिकन सांसदले आपत्ति जनाएपछि प्रतिनिधिसभा बैठक सुरु भएको १० मिनेटमै स्थगन भएको थियो।
त्यसपछि ट्रम्पविरुद्ध महाभियाेग प्रक्रिया अघि बढाइएकाे हाे। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा सत्ता सम्हाल्दै छन्। त्यसकाे ९ दिनअघि ट्रम्पविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरिएकाे हाे। राष्ट्रपति ट्रम्पविरुद्ध एकै कार्यकालमा दोस्रोपटक महाभियोग लगाइएकाे हो।
बीबीसीका अनुसार तल्लो सदनबाट लगाइएकाे महाभियोगबारे माथिल्लो सदन सिनेटमा सनुवाइ हुनेछ। त्यहाँबाट महाभियाेग प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक हुन्छ।