पर्सा- कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५ औँ वसन्त पार गरेर १६ औँ वर्षमा लागेकी थिइन्।
पढेलेखेर आफैँले रोजेको जीवनसाथीसँग हाँसिखुसी जीवन विताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सिध्याउने कारण बन्यो।
कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर बिभत्स हत्या गरेको रहस्य खुलेको हाे ।
पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी गाउँका मनबोध साहको घरमा कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयो। आगलागीमा जलेको घरभित्र मानाकुमारीको शव पनि जलेको अवस्थामा भेटिएको थियो।
त्यतिबेला बुवाआमाले छोरी निदाएकै अवस्थामा घरमा आगो लागेकाले बचाउन नसकिएको बताएका थिए। तर, घटनास्थल पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रकृत्ति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानका क्रममा आफूहरुले मन नपराएको गाउँकै युवकसँग सम्बन्ध बनाएको निहुँमा बुवाआमाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले बताए।