काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ ।
अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) कायम गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।
अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा शतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ ।
हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए
‘धेरैले सडकमा चलाउन नजान्ने भएपनि पनि ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्दा सजिलै ट्रायल पास गर्छन्, तर सडकमा गज्जबले सवारी चलाउन सक्नेले ट्रायल सेन्टरमा पुगेर परीक्षा पास गर्न सक्दैनन्,’ मन्त्रालयका ती अधिकारी भन्छन्,’यसरी एउटा गल्ती भएकै आधारमा ट्रयालमा फेल गर्नु जायज हुन्न भन्ने हाम्रो निष्कर्ष हो ।’
अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।
अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।