काठमाडौं- प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन्।
उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना माग तेस्र्याएर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने र थप जिम्मेवारीसहित पश्चिम नेपालतिर हिँडेका थिए।
उनले प्रधानमन्त्रीसमक्ष चार वटा माग राखेर अहिलेको अवस्थामा द्वन्द्वपीडितको मन तान्न सकिने र पूर्वमाओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन दिलाएका खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
खामले बालुवाटारमा प्रधानमन्त्रीसँग जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न माग गरेका छन् । यसले गर्दा यसअघि प्रतिपरिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आकलन छ।
त्यसैगरी जनयुद्ध, जनआन्दोलनका घाइते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खामको अर्को माग छ ।
जनमुक्ति सेना नेपालका सबै कमाण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मुक्ति सेनाको परिचयपत्र दिन, जनआन्दोलन र जनयुद्धताकाको मुद्दा निःशर्त खारेजी र बन्दीहरूको निःशर्त रिहाइको समेत माग राखेका छन्।
‘प्रचण्डलाई उतिबेला कैयौंचोटि भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुप¥यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिलेबाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ।
‘त्यसपछि अहिले उहाँ पूर्व माओवादी र जनमुक्ति सेनाको भेला गर्दै पश्चिम क्षेत्रमा हिँडिरहनु भएको छ’, स्रोत भन्छ, ‘उहाँका मागहरू पुरा भएको खण्डमा जस्तोसुकै जिम्मेवारी लिन तयार हुनुहुन्छ।’ खामले प्रधानमन्त्रीसँग यी कुरा राखेको चाल पाएका जनयुद्धका घाइते र केही पूर्वलडाकुले समेत उनलाई साथ दिन थालेका छन्।
चितवनको शक्तिखोर शिविरमा मारिएका व्यापारी रामहरि श्रेष्ठको हत्याअन्तर्गत फरार रहेका खाममाथि अरू पनि मुद्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमाण्डर थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहतियार खरखजनासम्बन्धी मुद्दासमेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ।