काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।
माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’
उनले माघे संक्रान्ति/माघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत गरेका छन् ।
उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठेको भन्दै यस्तो अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् ।
मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।