काठमाडौं- विगत अढाई वर्षदेखि नेपालले हरेक औपचारिक राजनीतिक र कूटनीतिक संयन्त्रमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन बुझ्न भारतसँग आग्रह गर्दैै आएको छ । तर, भारतले चासो नै दिएको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न इपिजीलाई समय नै दिएका छैनन् ।
नेपालमा पछिल्लोपटक केपी ओली र भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि उनीहरूबीच तीनपटक भेट भएको छ । ३ फागुन प्रधानमन्त्रीको शपथ खाएलगत्तै २४ चैतमा ओली भारत भ्रमणमा गएका थिए । त्यस्तै २८ वैशाख २०७५ मा प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं आएका थिए ।
त्यति मात्र होइन, मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथग्रहण गर्दा १८ जेठ २०७६ मा ओली भारत गएका थिए । यसरी उनीहरूबीच दुई वर्षमा तीनपटक प्रत्यक्ष भेट भएको छ । तर, एक्ला–एक्लै बुझ्न सक्ने प्रतिवेदन अभैm अलपत्र रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।
१५ र १६ असार ०७५ मा काठमाडौंमा सम्पन्न इपिजीको अन्तिम (नवौँ) बैठकले साझा प्रतिवेदनमा सहमति जनाउँदै एक महिनाभित्र दुई देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । २० र २१ असार ०७३ मा पहिलो बैठक नेपालमा बसेकाले प्रतिवेदन सुरुमा भारतीय प्रधामन्त्रीलाई बुझाउने इपिजीको निर्णय थियो । तर, अढाई वर्ष बित्दा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न रुचि देखाएका छैनन्।