काठमाडौं- सरकारले विकास निर्माणका कामलाई गति दिन नसक्दा चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनाको अवधिमा विकासको गति कमजोर देखिएको छ।
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दिँदै ३ वर्षअघि गठन भएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विकासका काममा भन्दा लामो समयदेखि दलभित्रको आन्तरिक किचलोमा रुमलिँदा त्यसको असर विकास निर्माणमा परेको खबर आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन्।
चालू बजेट सार्वजनिक भएको ६ महीनाको अवधीमा नेकपा विभाजनदेखि प्रतिनिधिसभा भंगसम्मका घटना भए।
यसैको प्रभाव स्वरूप चालू वर्षमा विकासका लागि छुट्ट्याइएको ३ खर्ब ५२ अर्ब पूँजीगत बजेटमध्ये यो अवधि अर्थात पुस मसान्तसम्ममा ५० अर्ब ८१ करोड मात्रै खर्च भएको सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।
यसअर्थ पूँजीगत खर्चका लागि चालू वर्षमा छुट्ट्याइएको कुल बजेटको १५ प्रतिशतसमेत खर्च भएको देखिँदैन । सरकारले ६ महीनाको अवधिमा १८ प्रतिशतभन्दा बढी खर्च हुने अनुमान थियो।