गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका र धार्चे गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यी दुई गाउँपालिका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा सम्पन्न छन् ।
भौगोलिक रूपमा बिकट भए पनि पर्यटकीय क्षेत्रका हिसाबले धार्चे र चुमनुव्री गाउँपालिका पर्यटकहरूको रोजाइमा पर्ने जिल्लाका प्रमुख दुई गाउँपालिका हुन् ।
धार्चेमा रहेको क्यान्टी लिभर पुल, तातोपानी कुण्ड, धार्चे डाँडा, गणेश हिमाल, कलकाङ्ग (रक क्लाइम्बिङ्ग प्याराग्लाइडिङ) क्षेत्र, न्याउली झरना, लाप्राकको एकीकृत नमुना बस्ती प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित भइसकेका छन् ।
चुमनुव्री गाउँपालिकाको चुम भ्याली प्राचीन बौद्ध संस्कृतिले भरिएको संस्कृति उपत्यका हो । त्यहाँ रहेका पुरातात्त्विक, धार्मिक तथा ऐतिहासिक बौद्ध गुम्बाहरूले त्यहाँ पुग्ने पर्यटकको मन जित्ने गरेको छ ।
करिब सात सय वर्ष पुरानो प्राचीन बौद्ध गुम्बा, बौद्ध धर्मसम्बन्धी प्राचीन मानी, कानी, छयोर्तेन, चैत्य, स्मारक र तिब्बती संस्कृति तथा पहिचानका कारण चुमनुव्री उपत्यका पनि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
प्रचार–प्रसारको अभावमा ‘ओझेलमा ताल’
धार्चे र चुमनुव्री गाउँपालिकाकामा अन्य आकर्षक पर्यटकीय स्थल पनि छन् जुन प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । दुई गाउँपालिकाको संगमस्थलको रूपमा रहेको निसराङ्ग ताल त्यस क्षेत्रको प्रमुख पर्यटकीय सम्भावना बोकेको एउटा प्रमुख गन्तव्य स्थल हो ।
समुद्र सतहबाट झन्डै चर हजार ७०० मिटर उचाइमा रहेको यो तालका वरपर साना ठुला कैयौँ हिमशृङ्खलाका बिचमा मनोरम दृश्य देखिने निसराङ्ग तालको सौन्दर्ययताले धार्चे र चुमनुव्री गाउँपालिकाको प्राकृतिक सौन्दर्यमा सुनमा सुगन्ध थपिए जस्तै बनाइदिएको छ ।
कुल तीन दशमलव तीन किलोमिटर क्षेत्रफलमा फैलिएको निसराङ्गताल घुम्न मात्र करिब तीन घण्टा खर्च गर्नुपर्छ । सूर्योदय र सूर्यास्तको समयमा निसराङ्ग ताल अझै आकर्षक देखिन्छ । यो ताललाई स्थानीय भाषामा ‘निसराङ्गच्छो’ नामले चिनिन्छ ।
स्थानीय गुरुङ भाषामा निसराङ्गको अर्थ मनोकामना र च्छो भन्नाले ताल भन्ने बुझिन्छ । मनको कामना पूरा गर्ने तालका रूपमा त्यस क्षेत्रका स्थानीय बासीले निसराङ्गताललाई चिन्ने गरेका छन् ।
‘विशेष गरी छोराछोरी नहुनेहरू जसरी पनि एक पटक यो तालमा पुग्नपर्छ भन्ने स्थानीयको मान्यता रहेको छ । सन्तान नहुनेहरू त्यहाँ गएर पूजापाठ गरेपछि सन्तान हुन्छन् भन्ने मान्यता पनि रहेको छ ।
ताल प्रवेश गर्ने मूलद्वारामा प्राकृतिक रूपमा रहेका ठुला चुच्चे ढुङ्गाका मूर्ति छ । जसलाई स्थानीयहरू चोम्पोलोङ र चम देवता भनी विश्वास गर्दछन् । जहाँ पूजापाठ नगरी भित्र प्रवेश गरेमा असिना पानी पर्ने र हावाहुरी चल्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।
यही धार्मिक विश्वासका कारण त्यहाँ घुमघामका लागि पुग्ने गरेका आन्तरिक पर्यटकहरू चोम्पोलोङ र चम देवताको पूजा गरेर मात्र भित्र जाने परम्परा रहेको छ । निसराङ्गताल परिसरमा हरेक वर्षको जनै पूर्णिमाको दिन ठुलो मेला समेत लाग्ने छ ।
कोहीले निसराङ्ग ताललाई दूध पोखरी भनेर पनि सम्बोधन गर्ने गर्छन् । तालको छेवैमा रहेको अनौठो देखिने ढुङ्गाको चुचुरा त्यहाँ पुग्ने पर्यटकहरूका लागि अर्को आकर्षणको केन्द्र बन्ने गरेको छ । त्यही ढुङ्गाको छेवैमा देउराली (ढुङै ढुङ्गाको चाङ) मण्डप बनाएर स्थानीयहरूले पूजा गर्दै आएका छन् ।
अर्को अनौठो कुरा के छ भने त्यहाँ पुग्ने पर्यटकले असोजदेखि करिब माघको अन्तिम सम्ममा निसराङ्गतालमा पानी देख्न पाउँदैन । यो अवधिमा ताल पूरै जमेको अवस्था हुन्छ । त्यस बाहेकको बाँकी अवधिमा मात्र निसराङ्गतालमा पानी देख्न पाइन्छ । निसराङ्ग तालको पानी तालदेखि करिब एक किलोमिटर वर जमिन मुनीबाट निस्कने गरेको स्थानीयहरू बत्ताउँछन् ।
‘तालको पानी धेरै वर जगत भालवाङबाट निस्किएर बुढी गण्डकी नदीमा मिसिने गरेको अनुमान गरिएको छ’, स्थानीयले भने, ‘त्यो बिचको भागमा भने कतै पानी बगेको देख्न पाइँदैन ।’ निसराङ्ग तालमा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके त्यस क्षेत्रका बासिन्दाहरूले रोजगारी पाउनुका साथै धार्चे र चुमनुव्री गाउँपालिकाको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
निसराङ्ग ताललाई हामीले हाम्रो गाउँपालिकाको एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा विकास गर्न चाहेको उनले बताए । उनले यो तालको संरक्षण, सम्बद्ध र प्रचार– प्रसारका लागि योजना निर्माण गरिरहेको बताए ।
कसरी जान सकिन्छ निसराङ्ग ताल
निसराङ्ग ताल पुग्न एक दिनको सवारी यात्रा र बाँकी ५ दिन हिँड्नुपर्छ ।
तातोपानीबाट एक दिनको यात्रामा जगत पुग्न सकिन्छ त्यहाँबाट करिब चार घण्टाको पैदल यात्रा गरेपछि रोल्पा डाँडा पुगेसँगै रोल्पा डाँडाबाट गणेश हिमाल र श्रृगी हिमाल दृश्यावलोकन गर्ने अवसर त्यहाँ पुग्ने पर्यटकले पाउनेछन् ।
रोल्पा डाँडाबाट ताक्पुकसम्म दुई घण्टाको यात्रा तय गरेपछि पर्यटकहरू ताक्पुकमाभेडी खर्कहरूमा बास बस्नुपर्ने र अर्को दिन ताक्पुकबाट भुङरङ केही घण्टाको यात्रासँगै निरमसी चौरमा पुग्न सकिन्छ ।
त्यहाँ पुगेपछि निसराङ जान समय अभाव हुने भएका कारण एक रात त्यहीँ बास बस्नुपर्ने हुन्छ । निरमसी चौरमा बास बस्ने पर्यटकहरूले गणेश हिमाल आमनेसामने देख्ने अवसर पनि पाउने छन् ।
त्यति मात्र होइन निरमसी चौरमा दिनभरि थाकेका पर्यटकहरूको थकाइलाई त्यहाँ देखिने कस्तुरी, झारललगायतका पशु वस्तु देखेर रमाउँछन् । आँखै अगाडि देखिने श्रृगी हिमालले त झनै पर्यटकको मन भुलाइ दिन्छ नै ।
कतिपय अवस्था हिम चितुवा समेत हेर्ने अवसर मिल्ने गरेको स्थानीय बासी बत्ताउँछन् । भुङरङबाट हिँडेपछि भने पर्यटक करिब २–३ घण्टामा निसराङ्ग तालमा पुग्न सक्छन् ।
तालको संरक्षणका लागि बजेट विनियोजन
तालको संरक्षणका लागि यसअघि बजेट विनियोजन नभएको भए पनि प्रदेश सरकारले यो वर्षदेखि काम थालेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा तालको संरक्षणका लागि एक करोड बजेट विनियोजन गरेको चुमनुव्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
‘प्रदेश सरकारले ससर्त बजेट अन्तर्गत हस्तान्तरण गरेको कार्यक्रम हो’, उनले भने, ‘अहिले तालको संरक्षण सम्बद्र्धनका लागि डिपिआर निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।’
पहिलो चरणमा त्यहाँ पुग्ने पर्यटकहरूको सुविधाका लागि फुट ट्रेल निर्माण, ताल वरपर र मुख्य–मुख्य स्थानमा आश्रय स्थल निर्माणलाई प्राथमिकतामा राखिएको उनले बताए ।
त्यसबाहेक हेलिप्याड निर्माणलगायत काम अघि बढाउन लागिएको श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको आफ्नै बजेटमा समेत तालको संरक्षण र प्रचारप्रसारका लागि योजना बनाइरहेको भन्दै गाउँपालिकामार्फत कन्सल्ट्यान्टले डिपिआरको काम लगभग सकेको श्रेष्ठले बताए ।