गाेरखा– गोरखाको पालुङटार नगरपालिकामा महिला डकर्मीहरुका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी ७ दिने डकर्मी तालिम सुरु भएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सहिजकरण गरेको हो ।
वडा नम्बर ९ मा संचालन भएको तालिममा सुरक्षित आवास निर्माणका लागि विभिन्न प्रविधिसहित भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम दिइने बताइएको छ ।
तालिममा १० जनामहिला सहित परियोजनाका प्रशिक्षकको सहभागिता समेत रहेको छ । महिला डकर्मी तालिमको पहिलो दिन पालुङटार नगरपालिकका मेयर ई. दिपकबाबु कँडेलले निजी आवास पुनर्निर्माणमा महिला डकर्मी समेत अब्बल रहेको र क्षमता अभिवृद्धिका लागि मद्दत मिल्ने बताए ।
‘समाजमा चलिआएको सोचलाई परिवर्तन गर्दै तालिममा मात्र सिमित नभएर दक्ष मिस्त्रीका रुपमा समुदायमा सुरक्षित आवास निर्माणमा योगदान गर्नेमा विश्वस्त रहेको छु ।’ उनले भने ।
उपमेयर पम्फा बसेलले तालिमको माध्यमद्धारा आफुमा परिर्वतन ल्याएर त्यसलाई आर्थिक आम्दानीको श्रोत समेत बनाउन आग्रह गरिन । तालिममा सबै समुदायबाट प्रतिनिधित्वगर्ने महिला आउनु भएकाले सक्रिय रुपमा तालिममा सहभागी भएर सीप आर्जन गर्न मद्दत पुगोस्, उनले भनिन् ।
तालिममा सहभागी पालुंगटार नगरपालिका वडा नम्बर ९ की भगवती परियारले भन्छिन् –‘तालिम पश्चात सहभागी सबै महिला मिलेर एक सुरक्षित घर निर्माणको नेतृत्व लिन मन छ ।
परियोजनाले सुरक्षित आवास निर्माणका लागि ७ दिने महिला डकर्मी तालिम गोरखा नगरपालिकामा समेत यथाशीघ्र संचालन हुने जनाएको छ । परियोजनाका इन्जिनियर विरेन्द्र श्रेष्ठले गोरखा र पालुंगटार नगरपालिकामा ४० जना महिलालाई ७ दिने दक्ष डकर्मीको तालिममा सहभागी गराउने बताए ।
परियोजनाले तालिममा ढुंगा माटोको गारो, इँटाको गारो सिमेन्ट लगायत विभिन्न प्रविधिका विषयमा तालिम दिइने बताईएको छ । दक्ष महिला डकर्मी बनाएर आफ्नै नेतृत्वमा घर निर्माण गर्न योग्य बनाउन सक्नु पनि तालिमको उद्देश्य रहेको इन्जिनियर श्रेष्ठले बताए ।
तालिमले भूकम्प प्रभावित भूमिहिन कान्छी माया तामांगको आवास निर्माणमा समेत मद्दत पुग्ने समेत परियोजनाले जनाएको छ । यसअघि, परियोजनाले ५ हजार दक्ष डकर्मीलाई सुरक्षित आवासका लागि विभिन्न प्रविधिमा तालिम दिएको छ ।