काठमाडौं- बिहीबार साँझ करिब ७ बज्दै थियो, जिल्लाको दोगडाकेदार गाउँपालिकानिवासी परिचित शिवराज भट्टले फोन गरे।
‘मेरी भतिजी भागरथी भट्ट, १७ वर्षकी, हिजोदेखि हराइरहेकी, आज त चडेपानी गाउँ तलको लवलेक जंगलमा शव फेला प¥यो, बलात्कार भएको छ । बीभत्स छ शव,’ यस्तै पूर्ण हतासामा रहेका उनले यस्तै अपूर्ण वाक्यमा आफ्नो भनाइ टुंग्याए।
चिसो मात्र थियो, अँध्यारो भइसकेको थियो, बाहिर पानी पनि पर्न सुरु भइसकेको थियो । आफ्नै जिल्लामा यति ठूलो अपराध भएको खबरले ज्यानमा झन् चिसो पानी खन्याएजस्तो भयो।
मैले तुरुन्तै स्थानीय खोचलेक प्रहरी चौकीमा सम्पर्क गर्न प्रयास गरेँ । जिल्ला सदरमुकामा गोठालापानीबाट करिब ३३ किलोमिटर पूर्वउत्तरमा रहेको प्रहरी चौकीमा फोन नै लागेन । खासमा प्रहरी चौकीमा रहेको टिनको छाप्रो पनि नेपाल प्रहरीको आफ्नै होइन । मासिक भाडा तिरेर प्रहरी बसिरहेको छ । त्यसले नै बताउँछ, जिल्लाको विकास ।
तर, त्यही क्षेत्रमा भारतीय सिमको नेटवर्क भने चल्छ । जब कि त्यहाँबाट भारतीय सिमाना करिब ६० किलोमिटर तल रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा बैतडीबाट लोकेश साउदले लेखेका छन्।
प्रहरी कार्यालयमा कसैको पनि फोन लागेन । त्यसैले यो विषयमा थप स्पष्ट हुन स्थानीयलाई फोन लगाउने प्रयास गरेँ । संयोगले एक स्थानीयको भने फोन लाग्यो । उनले भने, ‘हो, भागरथी अघिल्ला दिनदेखि नै हराइरहेकी हुन् । उनका आफन्तले तत्कालै प्रहरीमा उजुरी पनि गरेका हुन् । तर, प्रहरीले भोलि खोजौँला भनेर पठाइदिए । तर, आज लास मिल्यो भनेर गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थलमा आएको छ।’