काठमाडौं- नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसीमा भर्ना गरिएको हो।
उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट किशोर बुढाथोकीले लेखेका छन्।
बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन्। उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ।
‘सुरुमा किशोरीको अवस्था निक्कै गम्भीर थियो,’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बलात्कारका कारण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि भएको थियो।’ तर सुरुमा अत्यधिक रक्तस्राव भइरहेका बेला ल्याइएकी किशोरीको स्वास्थ्य अवस्था अहिले भने सामान्य बन्दै गएको उनको भनाइ छ।
घटना गत बिहीबार रातिको हो। नसालु पदार्थ खुवाएर मोरङ कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि प्रहरीले पीडकलाई उन्मुक्ति दिने हिसाबले काम गरेको स्थानीयको गुनासो छ।
सुरुमा घटनामा संलग्नलाई पक्राउ गर्न नै चासो नदिएको उनीहरूको भनाइ छ। प्रहरी अधिकारीले पनि यस घटनालाई लुकाउने प्रयास गरेका छन्। अहिलेसम्म प्रहरीले यो घटना सार्वजनिक गरेको छैन।