काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र धितोपत्र बोर्डबीच बिहीबार शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको छ । नेपाल स्टक एक्सचेञ्जमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर आइतबारबाट कारोबार हुनेगरी धितोपत्रबोर्डले सूचीकृत गरेको हो ।
धितोपत्रले सूचीकरण गरेको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार हुनेछ । कम्पनीको २० करोड कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने छ ।
बैंकको शेयर भने शेयरधनीको डिम्याट खातामा जम्मा भइसकेको छ। बैंकको शेयर निफ्रा कारोबार संकेतमा जम्मा भएको हो।
बैंकले माघ २ गतेदेखि ६ गतेसम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।