अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका समुन्द्र सतह देखि करीब ३०० मि देखि ८००० मि सम्म रहेको छ । यस गाउँपालिका ५ वडाहरू घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ ।
गाउँपालिकाको कूल जनसङ्ख्या पछिल्लो जनगणना अनुसार १४,८०२ रहेको छ । यसको राजनैतिक सिमाना पूर्वमा शूलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ ।
अजिरकोट दरौंदी नदीय पूर्वीपाटो र च्यावन चेपे नदीतर्फको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित पौराणिक कालदेखि वर्तमानसम्मको ऐतिहासिक, सामाजिक, राजनैतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरको रूपमा प्रसिद्ध गढी कोट हो । यहाँको चेपे तथा दरौदी नदि धार्मिक, कृषि, सिंचाई, जलबिधुत आदि बाट महत्तोपुर्ण छन् ।
तर महत्तोपुर्ण नदीबाट प्राकृतिक वस्तु दोहन भएको छ सो अबिलम्ब रोकिनु आवेश्यक देखिन्छ । यस कोटको बगलमा रहेको चोक र भन्ज्याङको समायोजनबाट बनेको अलका नगरी भच्चेक बजारमा गाउपालिका, सैनिक–ब्यारेक, प्रहरी चौकी, कृषि विकास कार्यालय, स्वास्थ्य केन्द्र, हुलाक, बैंक सुविधा, सभाहल आदिबाट सेवा लिन सकिन्छ । थेरै समथर टारहरु र अधिकाश पहाड हरियाली वातावरण र हावापानी रहेकाे जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र हैन साँस्कृतिक दृष्टिले समेत सबै जात जाती वर्ग र समुदायका सयुक्त बसोवास रहेके छ ।
जसमा ब्राम्हण क्षेत्री अदिवासीहरु जसमा घले शेर्पा गुरुङको बसोवास रहेको छ । थोरै समथर टारहरु र अधिकांश पहाडी हरीयाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र हैन ब्राम्हण, क्षेत्री, आदीबासीहरु घले, शेर्पा, गुरुङ्ग, तामाङ्ग, नेवार, दलित लगायतका जातजातीको संयुक्त बास रहेको यो भूमी सांस्कृतिक दृष्टिले समेत विवधता र सम्भावनाले भरीपूर्ण रहेको छ ।
यार्सागुम्बा, रथविरथ, पाँचऔले, जटामसी, कुड्की, सदुवा, निरमसी जस्ता औषधीजन्य जडिबुटी तथा बौद्ध र हिमचुली हिमाल, दुग्धपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढी लगायतका विसाल माढीहरु छन् । यी माडीहरुबाट तराईको मनोहर दृश्य अवलोकन गर्न सकिन्छ। दरौदी र चेपे जस्ता ऐतिहासिक महत्व बोकेका नदीहरु छन् । डिहीटार, बुधसिंहटार, नौविसेटार, पोखराटार र मुच्चोकटार लगायतका यस गाउँपालिका क्षेत्रभित्रका प्राकृतिक सम्पदाले प्राकृतिक भरिपुर्ण अजिरकोट गाउपालिका हो ।
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा रहेको छ । गोरखा जिल्लामा प्राचिन ३८ कोटहरु छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिककोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।
यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठुलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ । नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ । दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ ।
दुधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडिबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचआँले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथ, जस्ता अनगिन्ती जडिबुटी पाईन्छ । वनस्पतिमा गँरास, चिमल, चाँप, धुपी, भोजपत्र आदि पाईन्छ । फलफुलमा भुँइचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, मेल, नाल्चे फलफुल पाईन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाईन्छन् । जीवजन्तुमा मृग, हिम चितुवा, कस्तुरी, थार, बाघ, ब्वाँसो, हिमाली खैरो भालु, भालु, बाँदर, फ्याउरो, दुम्सी, बनविरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, बनकुखुरा आदि पाईन्छन् ।
अजिरकोट क्षेत्रमा खनिज, जडिबुटी, पशुपंछी, बन्यजन्तु, नदीनाला, ताल तथा सिसा, फलाम, स्लेट, ढुङ्गा खानीहरु जस्ता प्राकृतिक श्रोत साधन छन् भने हर्रो, बर्रो, गुर्जो, लेमन ग्रास, तिते, चिराइतो, मुस्रो, कटुस, हात्ती पाईले, कम्मरी लहरा, कुरिलो, बोजो, अलैंचि आदि जडिबुटीहरु पाइन्छ । त्यसैगरी प्रमुख वनस्पतिहरुमा कटुस, उतिस, चिलौने, लाँकुरी, लालीगुँरास, वरपिपल, चाप काफल, अमला, लप्सि, निगालो, बाँस आदि पर्दछन् ।
ऐसेलु, चुत्रो, मडिलो, मेल, भक्याउम्लो, दया, कैचल, बोटी, जामुनो, गुयली, तरुल, अंगेरी जस्ता जङ्गली फलपूmलहरु तथा सुन्तला पाइन्छन् । त्यस्तै जङ्गली जनावरहरुमा स्याल, बाँदर, फ्याउरो, वन बिरालो, खरायो, लोखर्के, लप्सी निलुवा, ओत, न्याउरी मुसा, चितुवा, बाघ, हरिण, मालछाप्रो, दुम्सी, लंगुर बाँदर, ढेडु आदि पर्दछन् ।
त्यसैगरी जङ्गली पंछीहरुमा कालिज, कोइली, पति फिस्टा, आलीचरा, कोटेरा, गौंथली, सुगा, धानचरा, काग गिद्ध, चिल, बाज, कल्चु, हुचिल, भद्राई, चिबै रेलोउ, कुकु, काफल पाक्यो आदि पर्दछन् । विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर पनि यहाँ पाइन्छन् । अन्यबालीमा धान, मकै, कोदो, फापर, जौ, उवा, करु, आलु, तोरी, सरसिम, बदाम, भटमास, सिमी आदि पाईन्छ ।
अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृष्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वभाविक नै हो । अजिरकोटबाट मनासलु, हिमालचुली, बौद्धनाथ, मनासलु उत्तर, रउला हिमाल, श्रृङ्गि हिमाल आदि साथै नागवेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ ।
राष्ट्रिय संस्कृतिको स्वरुप लिन यहाँको लोकसाँस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रामहण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ ।
यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, भेष–भूषा, बोलीवचन, साहिनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पति हुन् । अजिरकोट छेउछाउमा अनगिन्ति मठमन्दिर छन्, उदाहरणको रुपमा कालिका मन्दिर (अजिरकोट), भच्चेककी देवी (भच्चेक), झ्याल्लाका भुमे, अलका–विन्ध्यवासिनी (धादिङगरा), बौद्धगुम्बा (बुद्धसिङ), रामपाध्याय स्थानी (डिहीटार), पयूंबोटे देवी (लप्सीबोट), शिवालय मन्दिर (देउराली–बुद्धसिङ–टार), शिवालय मन्दिर (काफलडाँडा), शिवालय मन्दिर (ठासस्वाँरा–काफलडाँडा), खरिवोट, धादिङघरा, बतासे, मुलडाँडा, सुँगुरे, अपुन, भिरकुना, सिरनडाँडा (माने र गुम्बा) घ्याचोक, धनसिरा, मुच्चोक, माल्ले, फल्पु, झ्याँवा, सिमजुङ्ग, खरिवोटमा अवस्थित विभिन्न देवी देवताका भुमे स्थान, मन्दिर आदि अनगिन्ति धरोहरका रुपमा छन् ।
विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरुपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरुबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादन मार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ ।
विकासशील देशहरु उनीहरुको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरुले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकिय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोवारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनैतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरुले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।
विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रुपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडी बढाउनु अपरिहार्य छ ।
समृद्ध गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरुको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रुपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
यस क्षेत्रमा तुलनात्मक रुपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्धितीय प्राकृतिक एवम् साँस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रुपमा रहेको छ ।जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।
भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रुपमा मात्र विश्वमा परिचित नभई बीर गोर्खाली, पर्यटन, जलश्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रुपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरुको तपोभूमि एवं विश्राम स्थलको रुपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरुका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो ।
यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवंम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचे अनुसार पर्यटकहरुको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवंम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन ।
यसबाट प्रष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरु भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण अजिरकोट क्षेत्र आन्तरिक एवं वाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ ।
ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरुको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरुलाई पर्यटन सम्पदाको रुपमा विकास गर्न र पर्यटन सम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाईदैन । यस क्षेत्रका पर्यटकीय संभावना वोकेको अधिकांश स्थलहरु गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमि छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ ।
यसबाट यहाँका बासिन्दाले खास रुपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, अजिरकोट क्षेत्रको लागि पर्यटकीय संभाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, धार्मिक, सांस्कृतिक, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र अन्तर गाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । अजिरकोट गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ ।
पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरु मध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरुको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्न आवश्यकता रहेको छ ।
पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस अजिरकोट गाउँपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । यस क्षेत्रमा, ट्रेकिङ् स्थलको विकास गर्नु आवश्यक छ । जसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जन बाट जिविकोपार्जनमा ठूलो टेवा पुग्ने छ ।
समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरि सामुदायिक विकासका कार्यहरु सञ्चालन गर्न सकिन्छ । जसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरि नमूनाको रुपमा अजिरकोट क्षेत्रलाई विकास गर्न सकिन्छ । हाल यातायातको विकास सँगसगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ ।
पर्यटन आगमनमा वृध्दि हुने संभावना प्रचुर रहेकोले विद्यमान नीति, कानून र प्रकृया अनुरुप पर्यटनलाई एक उद्योगको रुपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो ।
लेखकः डा. अधिकारी गुणस्तर जिवनमा विद्यावारिधि गरेका हुन्।